हेमा भट्ट, पुस १९
कञ्चनपुर — सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने उद्योगका रूपमा लक्ष्मी कथा उद्योग प्रा. लि. सम्मानित भएको छ। आज मिति २०८२ साल पौष १९ गते आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले उद्योगलाई सम्मानपत्र प्रदान गरेको हो।


प्रदेशमा औद्योगिक विकास, विद्युतको प्रभावकारी उपयोग तथा आर्थिक गतिविधि विस्तारमा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कन गर्दै उद्योगलाई सम्मान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उच्च विद्युत खपतसँगै उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याउने उद्योगहरू प्रदेशको आर्थिक मेरुदण्डका रूपमा स्थापित हुँदै गएका छन्।
सम्मान ग्रहण गर्दै लक्ष्मी कथा उद्योग प्रा. लि.का प्रतिनिधिले नेपाल विद्युत प्राधिकरणप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जिम्मेवार, सुरक्षित र प्रभावकारी विद्युत उपयोग गर्दै उद्योगको उत्पादन क्षमता थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रदेशको औद्योगिक विकास र स्थानीय रोजगारी सिर्जनामा निरन्तर योगदान दिने लक्ष्य रहेको बताइयो।


यस किसिमको सम्मानले सुदूरपश्चिम प्रदेशमा औद्योगिक वातावरण क्रमशः सुधार हुँदै गएको र विद्युत आपूर्तिको पहुँच बढेसँगै निजी क्षेत्रको लगानी आकर्षित हुँदै गएको संकेत गर्ने सरोकारवालाहरूको भनाइ छ। स्थानीय स्तरमा उद्योग सञ्चालन र ऊर्जा उपयोगलाई प्रोत्साहन गर्दा प्रदेशको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
