ग्वासी धाममा एकादश दिवसीय महायज्ञ हुँदै, राष्ट्रपति पौडेललाई प्रमुख आतिथ्यका लागि निमन्त्रणा

हेमा भट्ट
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४, मालुबेला स्थित राष्ट्रकै ऐतिहासिक तथा सुप्रसिद्ध धार्मिक धरोहर ग्वासी मन्दिर (ग्वासी धाम) को प्राङ्गणमा यही २०८२ साल चैत्र ६ गतेदेखि १६ गतेसम्म एकादश दिवसीय श्री शिव महापुराण एवं महारुद्र महायज्ञ आयोजना हुने भएको छ। धर्म जागरण, अध्यात्म चिन्तन, राष्ट्र शान्ति तथा लोककल्याणको पावन उद्देश्यसहित आयोजना हुन लागेको उक्त महायज्ञका बारेमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष औपचारिक जानकारी गराइँदै प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरिएको छ।

आयोजक समितिका अनुसार राष्ट्रपति पौडेलले समय व्यवस्थापन मिल्न सकेमा महायज्ञमा सहभागी हुने सकारात्मक प्रतिक्रिया दिनुभएको छ। राष्ट्रपतिलाई महायज्ञबारे जानकारी गराउने अवसरमा माननीय पूर्व मन्त्री एन.पी. सावद तथा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा वडा नम्बर ४ का अध्यक्ष धर्म बहादुर सिंह समेतको उपस्थिति रहेको थियो। उनीहरूले ग्वासी धामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे राष्ट्रपतिलाई जानकारी गराउँदै महायज्ञले राष्ट्रियस्तरमा धार्मिक चेतना फैलाउने विश्वास व्यक्त गरेका थिए।

ग्वासी धाम सुदूरपश्चिमकै प्राचीन तथा आस्थाको केन्द्रका रूपमा परिचित धार्मिक स्थल हो। यहाँ आयोजना हुने महायज्ञले केवल धार्मिक कर्मकाण्ड मात्र नभई सांस्कृतिक धरोहरको संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन, सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको विकास मा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। महायज्ञ अवधिभर देशभरका विद्वान् धर्मगुरुहरूबाट शिव महापुराण वाचन, महारुद्र यज्ञ, भजन–कीर्तन तथा धार्मिक प्रवचन सञ्चालन हुने आयोजकले जनाएका छन्।

आयोजक समितिले महायज्ञलाई सफल बनाउन स्थानीय सरकार, धार्मिक संघ–संस्था, समाजसेवी, बुद्धिजीवी तथा आम श्रद्धालुहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साथै, ग्वासी देवताको कृपाले राष्ट्रमा शान्ति, समृद्धि र सद्भाव कायम होस् भन्ने कामनासहित देशका ऐतिहासिक तथा धार्मिक धरोहरहरूको संरक्षण, संवर्द्धन र प्रचार–प्रसारमा सबैले हातेमालो गर्न आयोजकहरूले आह्वान गरेका छन्।

ग्वासी धाममा आयोजना हुन लागेको यस प्रकारको धार्मिक महायज्ञले स्थानीयस्तरदेखि राष्ट्रिय तहसम्म धार्मिक तथा सांस्कृतिक पहिचानलाई मजबुत बनाउँदै ग्वासी धामलाई अझै चिनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply