प्याप्सनको ३५औँ स्थापना दिवसमा प्रभात मेमोरियल हाई स्कुलका अर्जुन चौधरी सम्मानित

रिलिशा राजवंशी
मिति : २०८२ पौष २४
बाँके। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) को ३५औँ स्थापना दिवसको अवसरमा आयोजित विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक नेतृत्वको सम्मान र शिक्षक–शिक्षिकाको मनोबल उच्च बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका निजी तथा आवासीय विद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बाँके जिल्लाको नेपालगञ्ज–१० मा अवस्थित प्रभात मेमोरियल हाई स्कुल को पनि सक्रिय सहभागिता रहेको थियो। सोही अवसरमा विद्यालयका म्यानेजिङ डाइरेक्टर अर्जुन चौधरी लाई शिक्षा क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

पछिल्ला १५ वर्षदेखि निरन्तर रूपमा शैक्षिक क्षेत्रमा समर्पित चौधरीको नेतृत्व, लगनशीलता र जिम्मेवार कार्यशैलीले प्रभात मेमोरियल हाई स्कुलको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको विद्यालय परिवारले जनाएको छ। शैक्षिक अनुशासन, गुणस्तरीय पठनपाठन र विद्यार्थीमैत्री वातावरण निर्माणमा उनको योगदान प्रशंसनीय रहेको बताइएको छ।

सम्मान ग्रहणपछि प्रतिक्रिया व्यक्त गर्दै चौधरीले भने,
“मेहनत, इमान्दारिता र निरन्तर प्रयास गरेपछि सम्मान आफैँ प्राप्त हुन्छ। हामी सबैले आफ्नो जिम्मेवारीलाई अपनत्वका साथ पूरा गर्दै शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउन सक्रिय हुनुपर्छ।”

उनका प्रेरणादायी भनाइले कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई थप उत्साहित बनाएको थियो।

कार्यक्रमका क्रममा प्रत्येक विद्यालयबाट दुईजना शिक्षक–शिक्षिकालाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ। प्याप्सनले यस्ता कार्यक्रममार्फत शिक्षक–शिक्षिकाको योगदानको कदर गर्दै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ।
शिक्षा क्षेत्रको विकास र सशक्तिकरणका लागि निरन्तर क्रियाशील प्याप्सनको यस किसिमको पहलले निजी विद्यालयहरूको भूमिकालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply