हेमा भट्ट,पुस २६
अत्तरिया— नेपालका युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवर्द्धनमा सक्रिय संस्था जेसिआइ अत्तरियाको १४औँ साधारण सभा तथा शाखा अधिवेशन सौहार्दपूर्ण, उत्साहपूर्ण र अनुशासित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले जेसिआइ अत्तरिया वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
जेसिआइ अत्तरियाको सचिवालय (CYC) भवन, अत्तरिया, कैलालीमा सम्पन्न उक्त अधिवेशन निर्वाचन समिति संयोजक जेसि प्रकाश मल्ल तथा मनोनयन सभापति एवं पूर्व अध्यक्ष जेसि गणेश शाहको संयोजन र सक्रिय भूमिकामा सम्पन्न भएको हो। संगठनभित्रको आपसी समझदारी, पारदर्शिता र नेतृत्व विकासप्रतिको प्रतिबद्धताका कारण सम्पूर्ण पदाधिकारीहरू निर्विरोध रूपमा निर्वाचित तथा मनोनित हुन सफल भएका छन्।
अधिवेशनबाट जेसि बम बहादुर बोगटी जेसिआइ अत्तरिया २०२६ का अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। कार्यकारी उपाध्यक्षमा जेसि सान परियार र जेसि टेक बहादुर खड्का चयन हुनुभएको छ। महासचिवको जिम्मेवारी जेसि प्रेमा पाठक भण्डारीलाई दिइएको छ भने कोषाध्यक्षमा जेसि केशब भट्ट चयन हुनुभएको छ।
यसैगरी, संस्थाको कानूनी सल्लाहकारमा जेसि अनिष सिंह चयन हुनुभएको छ। उपाध्यक्ष पदमा जेसि चिरञ्जीवी भट्ट, जेसि दुर्गादत्त पन्त, जेसि भुपेश कुमार महरा तथा जेसि अशोक खड्का चयन हुनुभएको छ। नयाँ कार्यसमितिमा ७ जना निर्वाचित र ३ जना मनोनित गरी जम्मा १० सदस्यीय कार्यसमिति गठन गरिएको छ।
कार्यक्रममा बोल्दै जेसिआइ अत्तरिया २०२५ का अध्यक्ष प्रदीप खड्काले नयाँ कार्यसमिति चयन भएकोमा सम्पूर्ण निर्वाचित तथा मनोनित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नयाँ नेतृत्वले जेसिआइ अत्तरियालाई अझ सशक्त, प्रभावकारी र समाजप्रति उत्तरदायी संस्थाका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
अधिवेशनमा सहभागी सदस्यहरूका अनुसार कार्यक्रमले संगठनभित्रको एकता, अनुशासन र नेतृत्व हस्तान्तरणको सकारात्मक संस्कारलाई थप मजबुत बनाएको छ। नयाँ कार्यसमितिले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, उद्यमशीलता प्रवर्द्धन तथा सामुदायिक सेवामूलक कार्यक्रमहरूलाई अझ
प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष जेसि बम बहादुर बोगटीसहित सम्पूर्ण बोर्ड पदाधिकारीहरूलाई जेसिआइ अत्तरियाका पूर्व अध्यक्ष तथा जेसिज २०२५ का अध्यक्ष प्रदीप खड्कामार्फत उज्ज्वल भविष्यका लागि हार्दिक बधाई तथा सफल एवं स्वर्णिम कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
