कृष्णपुर नगरपालिका–३ मा टोलस्तरीय जनभेटघाट र सहयोग कार्यक्रम सफलतापूर्वक सम्पन्न

हेमा भट्ट पुस २८
कञ्चनपुर, कृष्णपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयद्वारा सञ्चालन गरिएको टोलस्तरीय जनभेटघाट, शुभकामना आदान–प्रदान तथा सहयोग वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वडा कार्यालयको पहलमा वडाभित्रका विभिन्न सात टोल स्थानमा पुगेर सामाजिक तथा धार्मिक स्थललाई सहयोग गर्दै प्रत्यक्ष रूपमा जनताको समस्या सुन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमअन्तर्गत भगवान समाजका सातवटा स्थल तथा बैजनाथ मन्दिरलाई २५–२५ थान कुर्ची वितरण गरिएको छ। सामुदायिक तथा धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याउने उद्देश्यले गरिएको यस सहयोगलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। वडा कार्यालयद्वारा सञ्चालित उक्त कार्यक्रम समापनसँगै स्थानीयस्तरमा सामाजिक एकता र सहकार्यको सन्देश प्रवाह भएको छ।

वडा नम्बर ३ का सम्पूर्ण जनप्रतिनिधिहरू टोल–टोलमा स्वयं पुगेर माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै एक दिने जनभेटघाट अभियान सम्पन्न गरेका छन्। यस क्रममा जनप्रतिनिधिहरूले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए।

जनभेटघाट अभियानअन्तर्गत हिरापुर कटान, बैवाह पट्टी, दमल पट्टी, वडा टोल, तित्रपुर तथा बैजनाथ मन्दिर क्षेत्र लगायतका स्थानमा पुगेर जनप्रतिनिधिहरूले स्थानीय अवस्थाको प्रत्यक्ष अवलोकन गरेका छन्। सो क्रममा वडामा हालसम्म सम्पन्न भएका विकास निर्माणका कामहरूबारे जनतालाई जानकारी गराउँदै आगामी दिनमा प्राथमिकताका साथ गर्नुपर्ने योजनाबारे समेत छलफल गरिएको थियो।

स्थानीयवासीहरूले वडाको सक्रियता र जनप्रतिनिधिहरूको टोलस्तरीय उपस्थितिप्रति खुसी र उत्साह व्यक्त गर्दै धन्यवाद दिएका छन्। साथै, आगामी दिनमा पनि यस्तै जनमुखी कार्यक्रम, विकास निर्माणको निरन्तरता, पारदर्शिता र नागरिकसँगको संवाद अझ प्रभावकारी बनाइने अपेक्षा राखेका छन्।

कार्यक्रमका क्रममा स्थानीय जनताबाट सडक, नाली, खानेपानी, तटबन्धन (कटान नियन्त्रण), शिक्षा, स्वास्थ्य तथा रोजगारी सम्बन्धी विभिन्न सुझाव र सल्लाहहरू संकलन गरिएको वडा कार्यालयले जनाएको छ। ती सुझावहरूलाई आगामी योजना तथा बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।

यस प्रकारका टोलस्तरीय जनभेटघाट र सहयोग कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने, विश्वास र सहकार्य बढाउने तथा विकासलाई आवश्यकता–आधारित बनाउन सहयोग पुग्ने स्थानीय बुद्धिजीवीहरूको धारणा छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई नियमित र योजनाबद्ध रूपमा सञ्चालन गर्न सके वडाको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply