हेमा भट्ट
पुस २९, कञ्चनपुर
शुक्लाफाँटा उद्योग वाणिज्य संघले आफ्नो पाँचौँ अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै संस्थागत यात्रामा नयाँ अध्याय थपेको छ। व्यवसायिक एकता, उद्योग–व्यापारको प्रवर्द्धन तथा निजी क्षेत्रको भूमिकालाई थप सशक्त बनाउने लक्ष्यका साथ संघको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
अधिवेशनबाट राजेश धामीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिले स्थानीय उद्योगी तथा व्यवसायीका आशा–अपेक्षालाई प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ। संघका अनुसार नयाँ नेतृत्वले व्यवसायिक हकहित संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिक एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
नवगठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी धर्मानन्द भट्टले पाउनुभएको छ। बाणिज्य उपाध्यक्षमा प्रेमराज भट्ट र उद्योग उपाध्यक्षमा रमेश रावल चयन हुनुभएको छ। यस्तै महासचिवमा दिपकराज भट्ट, सचिवमा कलावती भट्ट तथा कोषाध्यक्षमा बिक्रम शाहु चयन हुनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा सन्तोष भट्ट, शिवराज पन्त, महेश विष्ट र लक्ष्मण सुनार रहनुभएको छ। अनुभवी र सक्रिय व्यक्तिहरूको सहभागिताले संघको आगामी कार्यदिशा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अधिवेशनको अवसरमा निर्वाचन समिति संयोजक सुरेन्द्र प्रसाद उप्रेतीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले शुक्लाफाँटा क्षेत्रको आर्थिक विकासमा उद्योग वाणिज्य संघको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिले सहकार्य, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गरे।
सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि संघभित्र सकारात्मक ऊर्जा र उत्साह देखिएको छ। उद्योगी तथा व्यवसायीहरूले नयाँ नेतृत्वले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै निजी क्षेत्रका समस्या, सम्भावना र आवाजलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने अपेक्षा राखेका छन्।
संघले आगामी दिनमा सरकारी निकाय, स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्दै शुक्लाफाँटा क्षेत्रलाई व्यवसायिक र आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
