हेमा भट्ट, माघ ३
कञ्चनपुर- थारू समुदायको महान पर्व माघीको अवसरमा “हाम्रो धर्म, संस्कृति—हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजना गरिएको विशेष माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ (थारू संवत् २६४९) कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, राजघाटस्थित खेलमैदानमा भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।


२०८२ माघ ३ र ४ गते बिहान ११ बजेदेखि सुरु भएको दुईदिने कार्यक्रम विशेष माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ आयोजक समिति तथा कृष्णपुर नगरपालिका वडा नं. ९, राजघाटको संयुक्त आयोजनामा सम्पन्न भएको हो। पहिलो दिनमै हजारौँ दर्शकको उल्लेखनीय उपस्थितिले राजघाट क्षेत्र सांस्कृतिक उत्सवमा रूपान्तरित भएको थियो।
उत्साह, सहभागिता र संस्कृतिको जीवन्त उत्सव
राजघाट खेलमैदान स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विभिन्न टोलका भलमन्सा, जनप्रतिनिधि तथा सर्वसाधारणले भरिएको थियो। थारू समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, गीत–नाच र सांस्कृतिक झाँकीले सम्पूर्ण वातावरण माघीको रौनकले रंगिएको देखिन्थ्यो। राष्ट्रिय कलाकार लक्ष्मी रानाको सशक्त सांस्कृतिक प्रस्तुतिले दर्शकलाई झुम्न बाध्य बनाउँदै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। साथै स्थानीय कलाकारहरूको थारू नाच, गीत तथा सांस्कृतिक झाँकीले माघी पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वलाई जीवन्त रूपमा उजागर गरेको थियो।


कार्यक्रम सञ्चालन र अध्यक्षता कार्यक्रमको सञ्चालन लालबहादुर चौधरी, अनु राना र सम्झना बस्नेतले संयुक्त रूपमा गर्नुभएको थियो।
सभाको अध्यक्षता विशेष माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रमका अध्यक्ष तथा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारीले गर्नुभएको थियो।


प्रमुख तथा विशिष्ट अतिथिका मन्तव्य
कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय गीता चौधरीले थारू समुदायको संस्कृति, परम्परा र पहिचान संरक्षणमा माघी पर्वको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले थारू समुदायको सामाजिक तथा सांस्कृतिक उत्थानका अभियानमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले माघी पर्व थारू समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा पर्व भएको उल्लेख गर्दै यसले सामाजिक एकता र सद्भाव मजबुत बनाउने बताउनुभयो।


नगर प्रमुख ओझाले कृष्णपुर नगरपालिकामा करिब ४० प्रतिशत डगौरा थारू समुदायको जनसंख्या रहेको उल्लेख गर्दै विविधताभित्रको एकता नै नगरको पहिचान भएको धारणा राख्नुभयो।
विकास, पूर्वाधार र सांस्कृतिक संरक्षणमा प्रतिबद्धता- नगर प्रमुख ओझाले नगरपालिकामा सडक, बाटोघाटो तथा पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै थारू लहंगा–चोली सिलाइ तालिम, कृष्णपुर–७ मा थारू संग्रहालय निर्माण लगायतका योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो।


राजघाट खेलमैदानदेखि राजपुर जोड्ने झुलुङ्गे पुल निर्माणबारे जानकारी दिँदै उहाँले गत वर्ष २० लाख रुपैयाँ बजेटबाट पिल्लर निर्माण सम्पन्न भइसकेको र थप बजेटको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।
खेलमैदानमा भइरहेको अतिक्रमणप्रति चिन्ता व्यक्त गर्दै उहाँले अतिक्रमण हटाई खेलमैदान संरक्षण गरिने स्पष्ट प्रतिबद्धता जनाउनुभयो।


“यो खेलमैदानमा मैले आफैँ फुटबल खेलेको हुँ, पहिले निकै फराकिलो थियो, अहिले साँघुरिँदै गएको देख्दा दुःख लाग्छ,” भन्दै उहाँ भावुकसमेत बन्नुभयो।
ऐतिहासिक र भौगोलिक महत्व बोकेको राजघाट
कार्यक्रम स्थल राजघाट खेलमैदान पूर्वतर्फ धनगढी उपमहानगरपालिका वडा नं. ३ र १३, उत्तरतर्फ श्रीलंका गाउँ तथा पश्चिम–दक्षिणतर्फ अन्य बस्तीहरूसँग जोडिएको छ। हरियाली, समथल र ऐतिहासिक महत्व बोकेको यो क्षेत्रलाई मोहना नदीले प्राकृतिक रूपमा छुट्याएको छ। हाल काठे पुलमार्फत आवतजावत हुँदै आएकोमा झुलुङ्गे पुल निर्माणपछि यस क्षेत्रको विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ।


एकता, पहिचान र सांस्कृतिक चेतनाको सन्देश
कार्यक्रममा नगर उपप्रमुख, विभिन्न वडाका वडा अध्यक्षहरू तथा सभाध्यक्ष निरज भण्डारीलगायत वक्ताहरूले माघी पर्वको सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले समुदायबीच एकता, सद्भाव र पहिचान मजबुत बनाउने धारणा व्यक्त गरेका थिए।


समग्रमा, विशेष माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ ले थारू समुदायको मौलिक पहिचान, संस्कृति र एकताको सशक्त सन्देश प्रवाह गर्नुका साथै राजघाटलाई सुदूरपश्चिमको एक महत्वपूर्ण सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने दिशामा ऐतिहासिक योगदान दिएको सहभागीहरूको साझा भनाइ रहेको छ।
आयोजकका अनुसार माघ ४ गते दोस्रो दिन अछामि बड्डो लगायत अन्य चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने जानकारी दिइएको छ।
















