कञ्चनपुर क्षेत्र नं. २ मा विकास र परिवर्तनको भरोसा, माधव पन्त मैदानमा

रैकवार खबर दैनिक
कञ्चनपुर क्षेत्र नं. २ को राजनीतिक परिदृश्यमा पछिल्लो समय नयाँ उत्साह देखिएको छ। नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवारका रूपमा ऊर्जाशील, अध्ययनशील र अनुभवी युवा नेता माधव प्रसाद पन्तलाई सिफारिस गरेसँगै क्षेत्रभर सकारात्मक चर्चा सुरु भएको छ।
शुक्लाफाँटा नगरपालिका–५, कञ्चनपुर स्थायी ठेगाना भएका ३८ वर्षीय पन्त हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पीएच.डी.) अध्ययनरत छन्। उनले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा एल.एल.बी. उपाधि हासिल गरेका छन्। शैक्षिक योग्यता, वैचारिक स्पष्टता र अन्तर्राष्ट्रिय अनुभवको संयोजनले पन्तलाई फरक र सक्षम उम्मेदवारका रूपमा स्थापित गरेको छ।
युवा आन्दोलन, राजनीतिक शिक्षा, विज्ञान–प्रविधि, मानवअधिकार, लोकतन्त्र, सामाजिक न्याय, भू–राजनीति र विश्व अर्थतन्त्रजस्ता विषयमा आयोजित दर्जनौँ गोष्ठी, सेमिनार तथा सम्मेलनमा सहभागी हुँदै उनले संयुक्त राज्य अमेरिका, चीन, भारत, रुस, ब्राजिल, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, टर्की, कतार, संयुक्त अरब इमिरेट्स लगायतका देशहरूको अनुभव संकलन गरेका छन्। उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिका गेस्ट लेक्चरर समेत रहँदै आएका छन्।
राजनीतिक यात्रा वि.सं. २०५९ मा कक्षा १० मा अध्ययनरत रहँदा कृष्ण माध्यमिक विद्यालयबाट अनेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै सुरु गरेका पन्त २०६२ मा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियू उपसभापति निर्वाचित भए। २०६४ मा स्ववियू सभापतिको उम्मेदवार बनेका उनी २०६५ मा अनेरास्ववियू कञ्चनपुर जिल्ला अध्यक्ष हुँदै त्रिभुवन विश्वविद्यालयको नेतृत्व र अनेरास्ववियू केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका पन्त यसअघि नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका सह–इन्चार्जको जिम्मेवारीमा पनि सक्रिय थिए। विद्यार्थी आन्दोलनदेखि जनआन्दोलनसम्म निरन्तर सक्रिय रहँदै आएका पन्तलाई अन्तर्राष्ट्रिय राजनीतिका जानकार, शालीन र अध्ययनशील युवा राजनीतिज्ञको रूपमा हेरिएको छ।
पन्तको उम्मेदवारी सार्वजनिक भएसँगै स्थानीय तहदेखि पार्टीपंक्तिसम्म आशा र भरोसाको वातावरण सिर्जना भएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने उनको प्रतिबद्धताले विशेषगरी युवापुस्ताको आकर्षण बढाएको देखिन्छ।
“जनमुखी राजनीति नै मेरो मूल उद्देश्य हो, कञ्चनपुर क्षेत्र नं. २ का जनताको आवाज संसदमा सशक्त रूपमा उठाउनेछु,” पन्तको भनाइ छ।
स्थानीय बासिन्दा तथा समर्थकहरू पन्तको नेतृत्वमा क्षेत्रको समग्र विकासले नयाँ गति लिने विश्वास व्यक्त गरिरहेका छन्। लामो समयदेखि ओझेलमा परेका समस्या समाधान, सुशासन र समान विकासको अवधारणालाई व्यवहारमा उतार्न सक्ने नेतृत्वका रूपमा उनलाई हेरिएको छ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई कञ्चनपुर क्षेत्र नं. २ का लागि निर्णायक अवसरका रूपमा लिइँदै गर्दा माधव प्रसाद पन्तको उम्मेदवारी परिवर्तन र विकासको आशाको दीप बनेको जनआवाज सुनिन थालेको छ। क्षेत्रको राजनीतिक सक्रियताले आगामी चुनावी प्रतिस्पर्धा अझ रोचक र अर्थपूर्ण बन्ने निश्चित देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply