धनबहादुर बिक
पुनर्वास, कञ्चनपुर —
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म दोस्रो बृहत् सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। “हाम्रो पुनर्वास, राम्रो पुनर्वास” भन्ने मूल नारासहित पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव पुनर्वासको ६५ बिघाहा क्षेत्रमा सञ्चालन हुन लागेको हो।
सोमबार पुनर्वास उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवसम्बन्धी विस्तृत जानकारी गराएको छ।


पुनर्वासको पर्यटन विकास, धार्मिक तथा आर्थिक समृद्धि र पूर्वाधार विकासलाई टेवा दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिए। उनका अनुसार महोत्सवमा पुनर्वास–९ स्थित प्याराताल, पुनर्वास–४ को कोटिहोम मन्दिर, पुनर्वास–८ को श्रीनिवास दिव्यधाम, पुनर्वास–१ को थारू सङ्ग्रहालयलगायत धार्मिक मठमन्दिर, चर्च, गुम्बा तथा स्थानीय पहिचान झल्काउने विभिन्न भेषभूषा र सांस्कृतिक प्रस्तुति समेटिनेछ।
महोत्सव सञ्चालनमा ४० देखि ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आम्दानीका मुख्य स्रोत टिकट बिक्री, स्टल शुल्क तथा व्यावसायिक विज्ञापन रहनेछन्। महोत्सवको प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाले समेत आर्थिक व्यवस्थापनमा सहयोग गर्ने अध्यक्ष रायमाझीले बताए।

महोत्सवमा १२० देखि १५० वटा स्टल रहने आयोजकले जनाएको छ। संघका निवर्तमान अध्यक्ष कृष्णबहादुर तामाङका अनुसार विगतमा पुनर्वासमा महोत्सव सञ्चालनको प्रत्यक्ष अनुभव नभए पनि अन्य शहरमा महोत्सव सञ्चालन गर्दै आएका व्यक्ति तथा संस्थासँग समन्वय गरी कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गरिनेछ।
स्थानीय कृषि उत्पादनको प्रवर्द्धनका लागि स्टल शुल्क अन्य क्षेत्रको तुलनामा न्यून राखिने तथा स्थानीय कृषकलाई निःशुल्क स्टलको व्यवस्था गरिने तामाङले बताए। पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष भरतबहादुर बिष्टले पुनर्वास उद्योग वाणिज्य संघले विगतमा नगरका गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पछिल्लो समय संघलाई ओझेलमा पारिएको बताए। सोही अवस्थालाई मध्यनजर गर्दै पुनर्वासको पहिचान र समग्र विकासका लागि महोत्सव आयोजना गरिएको उनको भनाइ छ। महोत्सवले पुनर्वासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वाससमेत उनले व्यक्त गरे।

करिब ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कलाकारसँगै चर्चित राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ। यसअघि वि.सं. २०६७ सालमा पुनर्वासमा पहिलोपटक महोत्सव आयोजना गरिएको थियो। करिब १५ वर्षपछि दोस्रोपटक महोत्सव हुन लागेको खबरले स्थानीयवासी उत्साहित भएका छन्।
