धनबहादुर बिक, माघ १३
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा रहेको खप्तड इङ्लिस बोर्डिङ स्कुलले प्रथम गोल्ड कप निजी विद्यालयस्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
विद्यालयका अनुसार प्रतियोगिता २०८२ साल माघ १६ गते बिहान ९ः३० बजेदेखि विद्यालयकै खेलमैदानमा सञ्चालन हुनेछ। उक्त प्रतियोगितामा आधारभूत तह (कक्षा ८ सम्म) का छात्रहरू सहभागी हुन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, दोस्रो हुने टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता लाई जनही नगद १–१ हजार रुपैयाँसहित मेडल प्रदान गरिने आयोजक विद्यालयले जनाएको छ।
समूह चरण लिग प्रणालीमा खेलाइने प्रतियोगिता दोस्रो चरणदेखि नकआउटका आधारमा सञ्चालन हुनेछ। प्रत्येक टिममा ६ जना खेलाडी रहनेछन् भने प्रतियोगिता फिफा, एएफसी तथा एन्फा का नियमअनुसार खेलाइने जनाइएको छ।
विद्यालयको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रिन्सिपल अमित रोकाया ले जानकारी दिए। उनका अनुसार खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकास, अनुशासन तथा सर्वाङ्गीण विकास मा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगिता आयोजना गरिएको हो।
