माघ १५
कैलाली — २०औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस र ट्राफिक सप्ताहको अवसर पारेर धनगढीमा विभिन्न रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसबाट कुल ११२ पिन्ट रगत संकलन भएको छ। रक्तसञ्चार केन्द्र धनगढीका अनुसार, ट्राफिक सप्ताह अन्तर्गत प्रदेश प्रहरी अस्पताल धनगढीमा सम्पन्न रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको हो।
सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओम बहादुर रानाले रक्तदानमा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जीवन बचाउने महान् मानवीय कार्य भएको उल्लेख गरे। उनले भने, “रक्तदान केवल जीवनदान होइन, सामाजिक उत्तरदायित्वको परिचायक पनि हो। ट्राफिक नियम पालनासँगै यस किसिमको मानवीय योगदान समाजका लागि प्रेरणादायी छ।”


नेपाल रेडक्रस सोसाइटी उपशाखा नं. २ को समन्वयमा एलायन्स इन्टरनेशनल स्कुलको सहकार्यमा आयोजित अर्को रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको छ। त्यस्तै, ग्यालेक्सी स्कुलले आफ्नो बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ।
कार्यक्रमका क्रममा सुदूरपश्चिम प्रदेशका रक्तदाता सद्भावना दूत दीपक उपाध्याले तीनै स्थानमा पुगेर रक्तदानको महत्व, नियमित रक्तदानको आवश्यकता र जीवन बचाउन यसको भूमिकाबारे सचेतना फैलाएका थिए। आयोजकहरूले बताएका छन् कि यस किसिमका कार्यक्रमले रक्तदानप्रति आमनागरिकको सहभागिता र चेतना अभिवृद्धि गर्ने काम गर्दै आएका छन्।
रक्तदानका माध्यमबाट समाजमा मानवीय सेवा र सहयोगको सन्देश फैलाउने प्रयास आगामी दिनमा पनि निरन्तर जारी रहने आयोजकहरूको विश्वास छ।

