कैलाली — सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षण अत्यन्त आवश्यक रहेको बताएका छन्। थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले मौलिक संस्कृति जोगाउन आयोगले खेलेको भूमिका प्रशंसनीय भएको बताए।
आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले आर्थिक वर्ष २०८१/८२ मा आयोगले गरेको कामको समग्र विवरण प्रतिवेदनमार्फत प्रदेश प्रमुख मियाँलाई हस्तान्तरण गरेका थिए। प्रतिवेदनमा थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र पहिचान संरक्षणका लागि गरिएको गतिविधि समेटिएको छ।
प्रदेश प्रमुख मियाँले भने, “पौराणिक थारु संस्कृति र सभ्यता अहिलेको पुस्ताले बिर्सँदै गएको देखिन्छ। यसको संरक्षण अति आवश्यक छ।” उनले कैलाली जिल्लामा बढी थारु बसोबास गर्ने भएकाले उनीहरूको हक र अधिकार सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा सुबोध सिंह थारुले विद्यालय तहदेखि नै थारु भाषा पढाउनुपर्नेमा जोड दिएका थिए। केही स्थानीय तहले पाठ्यक्रम तयार पारेको भए पनि प्रदेश सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए। साथै, बडघर प्रथालाई कानुनी मान्यता दिने विषयमा आयोगले चासो राखेको पनि जानकारी गराए।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयोगका अन्य सदस्य र थारु समुदायका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

