कञ्चनपुर–२ मा एउटै संगठनका दुई पूर्व नेता आमनेसामने

कञ्चनपुर, माघ १७ —
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक चुनावी माहोल केही फरक देखिएको छ। एउटै संगठन, एउटै राजनीतिक यात्राबाट उदाएका दुई युवा नेता अहिले फरक–फरक दलबाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।

एमाले निकट राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय अध्यक्ष बचन बहादुर सिंह र सोही संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष योगेश साउद अहिले प्रत्यक्ष प्रतिस्पर्धामा छन्। सिंह नेकपा (एमाले) बाट उम्मेदवार बनेका छन् भने साउद उज्यालो पार्टी नेपाल को तर्फबाट चुनावी दौडमा छन्।

विद्यार्थी राजनीति हुँदै युवा संघबाट उदाएका सिंहलाई एमालेभित्र प्रभावशाली युवा नेताका रूपमा लिइन्छ। उनी यसअघि २०७९ सालमा कञ्चनपुर–२(क) बाट प्रदेश सभा सदस्यको चुनाव लडिसकेका अनुभवी उम्मेदवार हुन्।

उता साउदको राजनीतिक यात्रा भने केही उतार–चढावपूर्ण रहँदै आएको छ। माओवादी केन्द्रको वाईसीएलबाट राजनीति थालेका उनी नेकपा एकताका बेला एमालेमा प्रवेश गरी युवा संघको केन्द्रीय उपाध्यक्ष बनेका थिए। २०७७ मा पार्टी विभाजनपछि एमालेमै रहे पनि पछि पुनः माओवादी केन्द्र हुँदै उज्यालो पार्टी नेपालतर्फ पुगेका हुन्। यो उनको पहिलो संसदीय चुनाव हो।

एकै संगठनका पूर्व अध्यक्ष र उपाध्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएपछि एमाले युवा संघभित्र मत कसलाई दिने भन्ने विषयमा अन्योल देखिएको नेताहरूको दाबी छ। साउद भने आफूले माओवादी र एमाले दुवैमा काम गरेको अनुभव सुनाउँदै दुवै धारका मतदातासँग मत मागिरहेका छन्।

युवा राजनीतिबाट सुरु भएको यो प्रतिस्पर्धा अब कञ्चनपुर–२ को चुनावी परिणाममा कसरी प्रभाव पार्छ, त्यो भने मतदाताको हातमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply