स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ पुनर्वासमा सुरु

पुनर्वास, माघ १८ | धनबहादुर बिक
स्थानीय तह स्तरीय छैठौँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आजदेखि पुनर्वासमा सुरु भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित पुनर्वास नगरपालिका–६ स्थित श्री जीवन ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिताको उद्घाटन गरिएको हो।

नगरका २६ माध्यमिक विद्यालयमध्ये २० वटा विद्यालय प्रतियोगितामा सहभागी भएका छन्। सहभागी विद्यालयका विद्यार्थीहरूले फरक–फरक पोशाकसहित मार्चपास तथा मशाल दौड प्रदर्शन गरेका थिए। मार्चपासलाई पुनर्वास नगरपालिका प्रमुख तोयप्रसाद शर्माले सलामी दिनुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले खेलकुद मानव जीवनका लागि अनिवार्य भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले ओझेलमा परेका प्रतिभावान खेलाडीलाई अगाडि बढ्न अवसर प्रदान गर्ने बताउनुभयो। खेलकुद विकासका लागि आफू सधैँ सकारात्मक रहेको उहाँको भनाइ थियो।

यस्तै, नगर स्तरीय मावि तहका प्रधानाध्यापक मानबहादुर तामाङले खेलाडीको अनुशासन अत्यन्तै आवश्यक रहेकोमा जोड दिनुभयो। विगतमा जिल्लास्तरबाट प्राप्त हुँदै आएको विद्यालयगत सहयोग कटौती भएपछि कार्यक्रम सञ्चालनमा कठिनाइ भएको उहाँले गुनासो गर्नुभयो

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर ऐरीले पुनर्वासले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको भन्दै आगामी दिनमा अझै उत्कृष्ट खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो।
आयोजक विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिता सदस्य सचिव भरतकुमार बस्नेतले खेलाडीहरूलाई अनुशासनका साथ खेल सम्पन्न गर्न आग्रह गर्नुभयो।

प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा भलिबल, कबड्डी (छात्र/छात्रा) तथा एथलेटिक्स लगायतका खेलहरू समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply