माघ २७
आशिष मल्ल ठकुरी (पत्रकार)
बाँके, बाँकेको डुडुवा गाउँपालिकामा एक नाबालिका किशोरीमाथि भएको यौन शोषणको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। १६ वर्षीया किशोरी (नाम परिवर्तन) लाई लामो समयदेखि विवाहित पुरुषले शोषण गरेको तथ्य बाहिर आएको हो।
स्थानीयका अनुसार घटना सार्वजनिक भएपछि किशोरी र सम्बन्धित युवक एक गोठमा फेला परेका थिए। त्यसपछि गाउँमा होहल्ला मच्चिएको थियो। पीडित किशोरीलाई तत्काल परिवारले घरमा ल्याएको थियो भने आरोपी युवक घटनापछि फरार रहेको बताइएको छ।
घटनापछि पीडित किशोरी र उनको परिवार मानसिक त्रासमा परेका छन्। यसैबीच, सामाजिक सञ्जालमा पीडितको नग्न तस्बिर फैलिएको भन्दै परिवारले गम्भीर आपत्ति जनाएका छन्। पीडित पक्षका अनुसार यसले पीडामा थप मानसिक यातना थपेको छ।
पीडित किशोरीले कानुनी प्रक्रिया सुरु गरिसकेकी छन्। गरिएको मेडिकल परीक्षणबाट घटनासम्बन्धी तथ्य पुष्टि भएको परिवारले जनाएको छ। हाल किशोरी सुरक्षित आश्रयस्थलमा राखिएको छ।
स्थानीय सरोकारवाला तथा मानवअधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले पीडितको गोपनीयता संरक्षण र पुनःस्थापनामा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
उक्त घटनाले नाबालिका सुरक्षा, सामाजिक जिम्मेवारी र डिजिटल दुरुपयोगका विषयमा गम्भीर प्रश्न उठाएको छ। सरोकारवाला निकायले यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
