फागुन ४
आइसिसी टी-२० विश्वकप २०२६ मा लगातार तीन खेलमा पराजित भएपछि नेपाल समूह ‘सी’ को अन्तिम खेलअघि नै बाहिरिएको छ। इंग्ल्यान्डसँग चार रन, इटालीसँग १० विकेट र वेस्ट इन्डिजसँग ९ विकेटले हारेसँगै नेपाल बाहिरिएको हो।
अब मंगलबार राति स्कटल्यान्डविरूद्ध हुने खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ।
तीनै खेल भारतको मुम्बईस्थित वानखेडे रंगशालामा खेल्दा नेपालले ब्याटिङमा खराब प्रदर्शन गर्यो भने बलिङमा पनि कुनै जादू देखाउन सकेन।
वानेखेडेलाई ब्याटिङका लागि राम्रो पिच र मैदान मानिन्छ। तर नेपालले तीन खेलमा एक अर्धशतक मात्रै बनाउन सकेको छ। तीन खेलमा नेपालले विपक्षीका आठ विकेट लिन सकेको छ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले एक अर्धशतकसहित तीन खेलमा कुल ११९ रन बनाएका छन्। दोस्रो स्थानमा रहेका कप्तान रोहित पौडेलले तीन खेलमा ६७ रन र तेस्रो स्थानका लोकेश बमले ५५ रन बनाएका छन्। नेपालका लागि अरू केही ब्याटरले तीन खेलमा कुल ५० रनसमेत बनाएका छैनन्।
बलिङमा नन्दन यादवले तीन खेलमा कुल तीन विकेट लिएका छन्। दीपेन्द्रसिंह ऐरीले तीन खेलमा दुई विकेका लिँदा शेर मल्ल र सन्दीप लामिछानेले एक-एक विकेट मात्र लिन सकेका छन्।
नेपाली बलर पनि विश्वकपमा प्रभावकारी भएका छैनन्। खराब प्रदर्शन गरिरहेको नेपालको हारको मुख्य कारणबारे नेपालका लागि तीन विश्वकप खेलेर कीर्तिमान बनाएका सोमपाल कामीसहित, कप्तान रोहितकुमार पौडेल, अलराउन्डर गुल्सन झा र स्टुअर्ट लले बोलेका छन्।
वेस्ट इन्डिजविरूद्ध हारेपछि सोमपालले हारको मुख्य कारण तीन कुरालाई माने। उनले वानखेडेको कन्डिसन, टस र पूरा टोलीको प्रदर्शन नै हारको कारण भएको बताए।
उनले भने, ‘यो एकदमै कठिन विकेट र कन्डिसन थियो। आज मलाई लाग्छ टस जित्नु निकै महत्त्वपूर्ण थियो, तर हामीले टस हार्यौं। त्यसैले यो ठूलो कुरा भयो जस्तो लाग्छ। साथै, वेस्ट इन्डिजको टिम फरक थियो र विश्वकपको स्तर पूरै अलग छ। उनीहरू बलियो भएर आएका थिए। हामीले शारजाहमा राम्रो क्रिकेट खेलेका थियौं र जित्न पनि योग्य थियौं, तर यहाँ हामी त्यसरी खेल्न सकेनौं। त्यसैले हामी हार्यौं।’
समग्र तीन खेलको हारको कारण भने उनले नेपाली टोलीले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न नसक्नुलाई माने।
‘इंग्ल्यान्डसँग हामी उत्कृष्ट थियौं, तर त्यसपछि राम्रो खेल्न सकेनौं। उच्च स्तरमा राम्रो नखेले अघि बढ्न सकिँदैन। हामी टिमको रूपमा राम्रो खेलिरहेका छैनौं। वेस्ट इन्डिज र इटाली विरूद्धको खेलमा हामीले जे खेल्यौं, त्योभन्दा हामी धेरै राम्रो छौं। राम्रो गरे जितिन्छ, तर अहिले हामी त्यो स्तरमा खेलिरहेका छैनौं। टिमको रूपमा जे खेल्यौं त्योभन्दा धेरै राम्रो छौं। हामीले आफूलाई विश्वास गर्नुपर्छ र अर्को अवसरमा बलियो भएर आउनुपर्छ,’ उनको भनाइ छ।
सोमपालले मुख्य समस्या ब्याटिङ भएको समेत बताए। उनले वानखेडेमा ब्याटिङ गर्न सजिलो भए पनि त्यसमा नेपाल सफल नभएको बताए। उनले भने, ‘म्याच जित्नका लागि राम्रो स्कोर बनाउनुपर्छ, तर हाम्रो ब्याटिङ ग्रुपले राम्रो गर्न सकेन। त्यसैले हामी हार्यौं। वानखेडेमा विकेट राम्रो थियो र ग्राउन्ड सानो छ, त्यसैले कम्तीमा १८०+ स्कोर बनाउनुपर्थ्यो। हामीले ब्याटिङमा काम गर्नुपर्छ।’
नेपालको हारको कारणबारे कप्तान रोहितकुमार पौडेल पनि बोलेका छन्। उनले वेस्ट इन्डिज विरूद्धको खेलपछि टोलीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्न नसकेको बताए।
उनले भने, ‘बिहान ब्याटिङ गर्दा चुनौतीपूर्ण थियो। त्यो बेला वेस्ट इन्डिजका म्याथ्यू फोर्ड, अकिल होसेन र जेसन होल्डरले पावरप्लेमा राम्रो बलिङ गरे। उनीहरूले कन्डिसनलाई राम्रोसँग प्रयोग गरे। ब्याटिङ युनिटको रूपमा हामी फेरि असफल भयौं। हामीले सुधार गर्नुपर्छ।’
नेपालको मुख्य समस्या साझेदारी गर्न नसक्नु र राम्रो सुरुवात गरेका ब्याटरले इनिङलाई अगाडि बढाएर लान नसक्नु भएको बताए। ‘हामीले ब्याटिङ पार्टनरसिपमा कमी गर्यौं। २०-३० रनको साझेदारी बन्छ तर त्यसलाई लम्ब्याउन सकेनौं। जसले सुरु राम्रो गर्छन्, उनीहरूले ठूलो स्कोरमा बदल्न सकेनन्। यी क्षेत्रमा हामीले सुधार गर्नुपर्छ।’
साथै मैदान बाहिरको कुराले पनि असर गरेको उनले बताए। ‘बाहिरी हल्लालाई टाढा राख्नु निकै महत्वपूर्ण छ। यदि खेलाडीहरूले त्यसलाई सुने भने प्रदर्शन गर्न गाह्रो हुन्छ। टिम हारिरहेको बेला सबैलाई सकारात्मक राख्नु जरुरी छ, र हामी त्यसै प्रयास गरिरहेका छौं,’ उनले भने।
यता सुरुवाती तीन खेलमा नेपालका आशा गरिएका अलराउन्ड गुल्सन झा पनि चल्न सकेनन्। उनी स्वयम पनि आफ्नो प्रदर्शनमा खुसी छैनन्।
‘सबैलाई थाहा छ, मैले सोचे जस्तो खेलको छैन। आफूसँग एकदमै निराश छु। तर हामीले बुझ्नुपर्छ क्रिकेट यस्तै हो। हामीले सोचेजस्तो कहिल्यै हुँदैन। अप्स एण्ड डाउन भइरहन्छ। अब यो अवस्थालाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो,’ उनले भने।
इंग्ल्यान्डसँग राम्रो खेले पनि सबै खेलाडीमाथि अपेक्षा धेरै भएको र त्यसलाई पूरा गर्न नसकेको उनको भनाइ थियो।
उनले भने, ‘इंग्ल्यान्डसँग एकदमै असाधारण क्रिकेट खेलेका थियौं। त्यसपछि हामी सबैको अपेक्षा निकै उच्च भयो। तर बाँकी दुई म्याचमा त्यो अपेक्षालाई पूरा गर्न सकेनौं। खेलाडीको रूपमा बुझ्नुपर्छ, हरेक दिन उस्तै हुँदैन। फरक-फरक प्रतिद्वन्द्वी हुन्छन्, फरक चुनौतीहरू हुन्छन्। हामीले ती चुनौतीहरूलाई अवसरमा बदल्न सकेनौ।’
उनले पनि सोसल मिडियालाई क्रिकेटिङ जीवनबाट टाढा राख्नु पर्ने बताए।
नेपालको प्रदर्शनमा प्रशिक्षक स्टुअर्ट ल पनि खुसी छैनन्। उनले इटाली विरूद्धको खेलपछि निकै असन्तुष्ट व्यक्त गरे।
‘इंग्ल्यान्डविरुद्ध खेलपछि इटालीविरुद्धको खेल पूरै फरक भयो। हामी हाम्रो गेम प्लानबाट टाढा गयौं। सायद आत्मसन्तुष्टि भयो होला सजिलै जित्छौं भनेर सोच्यौ। तर इटालीका खेलाडी राम्रा थिए र उनीहरूले हामीलाई हाम्रो खेल खेल्न दिएनन्। यो हाम्रो गल्ती हो, हामीले राम्रो प्रदर्शन गरेनौं।’
इंग्ल्यान्डविरूद्ध जस्तो प्रदर्शन गरे पनि नेपालले हारेको कुरा मुख्य भएको र त्यसलाई जित जसरी उत्सव मनाउनु गल्ती भएको पनि प्रशिक्षकको भनाइ छ।
‘हामीले इंग्ल्यान्ड विरुद्धको हारलाई सेलिब्रेट गर्यौं। यो उत्कृष्ट प्रयास थियो, तर अन्त्यमा हामी हारेका हौ। हामीले त्यहाँबाट कठोर मानसिकता ल्याउनुपर्थ्यो। इटालीविरुद्ध उनीहरूमाथि दबाब सिर्जना गर्न अझ कडा भएर आउनुपर्थ्यो, तर हामीले त्यसो गरेनौं,’ उनले सामाजिक सञ्जालको प्रभाव पनि हारको कारण भएको थप्दै अघि भने, ‘नेपाली संस्कृतिमा सोसल मिडिया ठूलो हिस्सा हो। मेरो लागि यो ठूलो डिस्ट्र्याक्सन हुन सक्छ। यदि हामी सोसल मिडियामा के भनिँदै छ भन्नेमा फोकस गर्छौं भने टिमलाई के चाहिन्छ,साथीहरूलाई के चाहिन्छ भन्नेमा ध्यान दिँदैनौं। इंग्ल्यान्डको उच्चबाट चार दिनमै इटालीको तल झर्नु भनेको मानसिक कठोरता नदेखाउनु हो, टिम, देश र परिवारप्रतिको कमिटमेन्ट नदेखाउनु हो।’
