फागुन २१ लक्षित करन सिंहको सन्देशमूलक गीत सार्वजनिक

हेमा भट्ट, फागुन १२
कञ्चनपुर, कृष्णपुर – कृष्णपुर नगरपालिका ९, राजघाट शान्ति टोल निवासी करन सिंहले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्यित गर्दै भावुक, मार्मिक र सन्देशमूलक गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा दशक लामो जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरेका ‘प्रचण्ड’को भूमिका, योगदान र परिवर्तनका एजेन्डालाई समेटिएको छ।

रचनाकार सिंहका अनुसार गीत कुनै व्यक्तिगत प्रचारका लागि नभई परिवर्तनको यात्रामा योगदान दिएका गणतन्त्रका नायकको स्मरण तथा सर्वहारा वर्ग, गरिब, दलित, पीडित, असहाय महिला र राज्यको पहुँचभन्दा टाढा रहेका समुदायका अधिकारका सवाल उजागर गर्ने उद्देश्यले तयार पारिएको हो।
“म साधारण मान्छे हुँ, गरिब परिवारबाट आएको हुँ,” सिंह भन्छन्, “तर गणतन्त्रले हामीलाई बोल्न, लेख्न र सिर्जना गर्न हिम्मत दियो। त्यही हिम्मतले यो गीत जन्मिएको हो।”

गीतमा जनयुद्ध र जनआन्दोलनको संघर्ष, परिवर्तनको पीडा, सहिदहरूको सम्झना तथा गणतन्त्र स्थापना पछिको आशा र अपेक्षालाई गहिरो ढंगले अभिव्यक्त गरिएको छ। आफ्नै शब्द, लय र स्वरमा तयार गरिएको यस गीतले गाउँघरका आम नागरिकको भावना समेट्ने प्रयास गरेको रचनाकारको दाबी छ।

गीतका बोलमा परिवर्तनका लागि बलिदान दिएका योद्धाहरूको स्मरण, वर्गीय विभेदविरुद्धको आवाज, सामाजिक न्यायको आकांक्षा र समतामूलक समाज निर्माणको सपना झल्किन्छ। भावुक शैलीमा प्रस्तुत गरिएको गीतले विशेषगरी गरिब, श्रमिक, किसान र उत्पीडित समुदायको मन छुने विश्वास गरिएको छ।

स्थानीयस्तरमै निर्माण गरिएको भए पनि गीतको सन्देश व्यापक रहेको बताइएको छ। चुनावी सरगर्मी बढिरहेका बेला सार्वजनिक भएको यो गीतले राजनीतिक माहोलमा सांगीतिक तरंग थपेको छ। अन्त्यमा सिंहले भने, “परिवर्तन सजिलै आएको होइन, धेरै संघर्ष र बलिदानपछि आएको हो। त्यसैले त्यो इतिहासलाई सम्झेर, बुझेर र सम्मान गर्दै मैले यो गीत बनाएको हुँ।”

परिवर्तन, अधिकार र सामाजिक न्यायको पक्षमा सशक्त सन्देश बोकेको करन सिंहको यो जबर्जस्त गीत अहिले स्थानीय स्तरमा चर्चा बटुल्दै सबैको मनमा बस्ने खालको बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply