नरेश राना
कञ्चनपुर, १३ फागुन
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढिरहेका बेला महत्वपूर्ण राजनीतिक घटनाक्रम देखिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्र बहादुर शाही आफ्नै पार्टीका जिल्ला प्रमुख अमर सिंह विष्ट सहित ५४ जना नेता–कार्यकर्तासँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएका छन्।
तीन दिनअघि मात्रै बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणा–पत्र सार्वजनिक गरेका शाहीले बदलिएको राजनीतिक परिवेशमा बाम एकताको आवश्यकता औंल्याउँदै नेकपामा प्रवेश गरेको बताएका छन्। शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए।
बुधबार आयोजित कार्यक्रममा उनीहरूले अब आफ्नो सम्पूर्ण शक्ति नेकपा उम्मेदवार बीना मगरको जित सुनिश्चित गर्न केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। “मत विभाजन गरेर कमजोर बन्नुभन्दा एकताबद्ध भएर बलियो बन्ने निर्णय गरेका हौँ,” शाहीले भने।
प्रलोपा, जसको नेतृत्व पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गर्दै आएका छन्, त्यसका क्षेत्रीय नेतृत्वसमेत नेकपामा समाहित हुनु क्षेत्र नं. १ को चुनावी समीकरणमा अर्थपूर्ण परिवर्तनको संकेत मानिएको छ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य जिवन थापाले चुनाव नजिकिँदै जाँदा जनआधार मजबुत बन्दै गएको र विभिन्न तहका नेताहरू नेकपातर्फ आकर्षित हुनु त्यसैको परिणाम भएको बताए। नवप्रवेशी नेता–कार्यकर्तालाई उम्मेदवार बीना मगरसहित पार्टीका स्थानीय तथा केन्द्रीय नेताहरूले स्वागत गरेका थिए।
समाहित भएका टोलीले महिला नेतृत्व सशक्तीकरण र स्थिर राजनीतिक दिशाका लागि बीना मगरलाई विजयी गराउने अभियानमा सक्रिय भूमिका खेल्ने घोषणा गरेका छन्। यस घटनाले कञ्चनपुर–१ को चुनावी प्रतिस्पर्धा थप रोचक र एकीकृत बाम ध्रुवीकरणतर्फ उन्मुख भएको संकेत दिएको छ।
