हेमा भट्ट, फागुन १३
कञ्चनपुर, माघ २८ – कृष्णपुर नगरपालिका अन्तर्गत वडा नं. ७, कलुवापुरले विद्यालयको नाममा दर्ता प्रक्रियामा रहेको जग्गा सम्बन्धी देखिएको अन्योल र सार्वजनिक गुनासोलाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिनका लागि औपचारिक सिफारिस गरेको छ।
वडा कार्यालयका अनुसार कञ्चन माध्यमिक विद्यालयको हाताभित्र दक्षिण–पूर्वतर्फ रहेको जग्गा विद्यालयकै हुने भनी २०५६/०२/१८ गते विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो। त्यस्तै २०७१/०१/२९ गते तत्कालीन गा.वि.स. स्तरको बैठकले नक्सा सिट नं. ०२७०४८४ अन्तर्गत कि.नं. ३४५, ४२८ र ३९९ लाई विद्यालयको नाममा दर्ता गराई लालपुर्जा प्राप्त गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो।
तर हाल फिल्डबुक अभिलेखमा कि.नं. ३९९ र ४२८ मा “सार्वजनिक ताल” उल्लेख रहेको देखिएको र ती कित्तामा माटो भरान भइरहेको भन्ने जनगुनासो आएपछि विषय थप संवेदनशील बनेको हो। सार्वजनिक सम्पत्तिमा सम्भावित अतिक्रमण हुन नदिन वडा कार्यालयले नगर कार्यपालिकासँग अमिन खटाई सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

वडा अध्यक्ष घुमन रानाद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित कित्ताहरूको फिल्डबुक उतार, नक्सा तथा विभिन्न मितिका निर्णय कागजात संलग्न गरी प्रक्रिया पारदर्शी ढंगले अगाडि बढाउन सिफारिस गरिएको उल्लेख छ।
नगरपालिकाले समेत विषयलाई प्राथमिकतामा राख्दै स्थलगत नापजाँच र तथ्य संकलन प्रक्रिया अघि बढाएको जनाएको छ। सार्वजनिक ताल, विद्यालय सम्पत्ति र सामुदायिक स्रोतको संरक्षणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै, छानबिनपछि आवश्यक कानुनी कदम चालिने संकेत दिएको छ।
यस पहलले स्थानीय तहको उत्तरदायित्व, अभिलेखको शुद्धता र सार्वजनिक सम्पत्तिको संरक्षणप्रति देखिएको सक्रियता झल्काएको छ। स्थानीयवासीले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन्।

