हेमा भट्ट, फागुन २०
कञ्चनपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी का प्रत्यक्ष उम्मेदवार माधव प्रसाद पन्त ले सुशासन, पारदर्शिता र आधारभूत विकासलाई केन्द्रमा राखेर आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्।
उम्मेदवार पन्तले खानेपानी, सडक, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्पष्ट नीतिनियम निर्माण गर्ने घोषणा गरे। “म भ्रष्टाचार गर्दिनँ, न कसैलाई गर्न दिन्छु। जनताको एक–एक पैसाको हिसाब पारदर्शी रूपमा सार्वजनिक गर्नेछु,” उनले भने।
उनका अनुसार कञ्चनपुर–२ का हरेक वडा र पालिकामा आधारभूत पूर्वाधार विस्तार गरिनेछ। “खानेपानी र सडक जनताको आधारभूत अधिकार हो। यी क्षेत्रमा ठोस पहल गरेर परिणाम देखाउनेछु,” पन्तले दृढतापूर्वक बताए।
पार्टीको घोषणा–पत्रअनुसार सुशासन र न्यायपूर्ण कामलाई प्राथमिकता दिँदै उनले संसदमा पुगेर जनताको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। “संकटमा म अब्बल खम्बा बनेर उभिनेछु। जनताको दुःख–कष्टमा सधैं साथमा रहनेछु,” उनको भनाइ छ।
उनले अधुरा कामलाई स्पष्ट समयसीमासहित अघि बढाउने र नसकिएको काम अर्को वर्षका लागि योजना बनाएर कार्यान्वयन गर्ने बताए। “हामीले सुरु गरेको काम पूरा गरेरै छाड्छौं। पारदर्शिता र उत्तरदायित्व हाम्रो मूल मन्त्र हो,” उनले जोड दिए।
उम्मेदवार पन्तले कञ्चनपुर–२ का जनताको शिर उच्च बनाउने, देश जोगाउने र समृद्धिको आधार निर्माण गर्ने उद्देश्यसहित आफूलाई संसदमा पठाउन आग्रह गरेका छन्।
