हेमा भट्ट
कञ्चनपुर, – जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीको सक्रियता फेरि एकपटक देखिएको छ। मिति २०८३ साल बैशाख २ गते कञ्चनपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नुका साथै ठूलो परिमाणमा भन्सार छलि गरी ल्याइएका सामान बरामद गरेको जनाएको छ।
बहुबिवाह मुद्दामा लामो समयदेखि फरार रहेका बेलडाँडी गाउँपालिका-३ खैरिघाट निवासी ५८ वर्षीय शोभान सिंह खड्का अन्ततः प्रहरी नियन्त्रणमा परेका छन्। उनलाई आफ्नै घरबाट बिहान १०:२० बजे पक्राउ गरिएको हो। जिल्ला अदालत कञ्चनपुरको २०५२ सालको फैसलाअनुसार उनलाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालत पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, भन्सार छलि गरेर ल्याइएका विभिन्न सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला परेका ती सामानमा नम्बर प्लेट नभएको मोटरसाइकल, जुत्ता, बालबालिकाका सेण्डिल, सुर्ती, मिठाई, चिनी, कपडा लगायतका सामग्री रहेका छन्। बरामद सामानको अनुमानित मूल्य ६ लाख ५ हजार ७ सय ३६ रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार उक्त सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ। कञ्चनपुर प्रहरीको यो सक्रियता अपराध नियन्त्रण र राजस्व संरक्षण दुवै दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
