फागुन २१
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो।
आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्।
प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
मतदान गर्न जाँदा मतदाताहरूले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ।
निर्वाचन आयोगले नयाँ मतदाताहरूलाई बुधबार मतदाता परिचयपत्र बाँढेको थियो।
पुराना मतदाताहरूले भने यसअघि नै बाँडिसकेको परिचय पत्र देखाएर मतदान गर्न पाउनेछन्।
मतदाता परिचय पत्र नभएको खण्डमा त्यसबाहेक विभन्न पाँच प्रकारका परिचय पत्र देखाएर मतदान गर्न सकिनेछ।
आयोगका अनुसार मतदाता परिचयपत्र नभएको खण्डमा आफ्नो नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजात हुँदा पनि मतदान गर्न पाइन्छ।
