फागुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ मा सर्लाहीका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ।
सर्लाहीका चार क्षेत्रमध्ये तीन वटा क्षेत्रमा कांग्रेस र माओवादीका ‘ठूला’ नेताहरू चुनाव लड्न पुगेका थिए। उनीहरूलाई पछि पार्दै रास्वपाले मतान्तर बढाइरहेको छ।
यी क्षेत्रमा बढीमा २० हजार र कम्तिमा ३ हजार मतले रास्वपा अगाडि छ। यसले चुनाव लड्न काठमाडौंबाट मधेश झरेका कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई धक्का लागेको छ। वर्षौँदेखि सर्लाही २ मा चुनाव लडेका र जित्दै आएका मधेशबाट माओवादी राजनीति हुँदै नेकपाको माथिल्लो तहमा पुगेका महिन्द्र राय यादव समेत अहिले पछि परेका छन्।
सर्लाही १ मा नीतिमा भण्डारी कार्कीलाई २४,१८६ मत मिलेको छ। उनले नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई २० हजार बढी मतले पछि पारेकी हुन्। श्रेष्ठले ३६३४ मत ल्याएका छन्।
सर्लाही २ मा रास्वपाका रविन महतोले १२५८३ मत ल्याएर अग्रता कायम गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका नेता महिन्द्र राय यादवले यहाँ ३१५८ मत पाएका छन्। उनीहरूबीच ९४२५ मतको अन्तर छ।
यादव सर्लाहीबाट नेपाको माथिल्लो तहमा पुगेका पुराना नेता हुन्। २०४८ सालमा नेकपा मानन्धर समूहबाट उम्मेदवार बनेर पराजित यादव २०५१ र २०५६ सालको निर्वाचन एमालेबाट जितेका थिए। त्यसयताका सबै निर्वाचन उनले जित्दै आएका छन् २०६४ सालदेखि कम्युनिस्ट राजनीति छोडेर मधेस केन्द्रित राजनीतिमा होमिएका यादव २०७९ सालदेखि फेरि कम्युनिस्ट पार्टीमा लागेका हुन्।
त्यस्तै सर्लाही ३ मा रास्वपा उम्मेदवार नरेन्द्र शाह कलवारले नेकपाका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै १७२६९ मत ल्याएका छन्। श्रेष्ठले ५४८७ मत ल्याएका छन्। उनीहरूबीच ११७८२ को मतान्तर छ।
श्रेष्ठ अहिलेसम्म प्रत्यक्ष निर्वाचन जितेका छैनन्। २०६४ सालमा नेकपा माओवादीमा प्रवेश गरेका श्रेष्ठ पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए। २०७० मा मकवानपुर ४मा चुनाव लड्न गएका उनी पराजित भएका थिए। त्यसपछि २०७४ सालमा गोरखा २ मा चुनाव लड्न गए। त्यहाँ उनी माओवादीकै पूर्व नेता तथा पूर्वप्रधानमन्त्री बाबुरामभट्टराईसँग पराजित भए।
त्यसपछि राष्ट्रियसभासदस्य भएका उनी पटकपटक उपप्रधानमन्त्री तथा मन्त्री भएका व्यक्ति हुन्। यसपालि उनी चुनाव लड्न सर्लाही झरेका हुन्। तर उनी रास्वपाका कलवारसँग निरन्तर पछि परिरहेका छन्।
क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायम गरेका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार सिंहले यहाँ ९०३७ मत ल्याएका छन् भने कांग्रेस सभापति गगन थापाले ५८२८ मत पाएका छन्। उनीहरूबीच ३२०९ को मतान्तर छ। २०७० सालदेखि काठमाडौं ४ मा चुनाव लड्दै आएका थापा विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनेपछि मधेश झरेका थिए। मधेशमा कांग्रेसको प्रभाव बढाउन तराई झरेको भनिन्छ। तर अहिले थापा आफै पछि परेका छन्।
