निलपाल धाममा समावेशिताको उज्यालो: परम्परा तोड्दै वैदिक महायज्ञले दियो समानताको सन्देश

हेमा भट्ट,
बैतडी, वैशाख १३ – सुदूरपश्चिमको पहाडी भूभागमा अवस्थित एक धार्मिक स्थलले यसपटक केवल पूजा–आजा मात्र गरेन, सामाजिक चेतनाको एउटा नयाँ अध्याय पनि सुरु गर्‍यो। पाटन नगरपालिका–७, कैलपाल रूपल्लीस्थित निलपाल देवताको धाममा सम्पन्न तीन दिने वैदिक महायज्ञले वर्षौंदेखि जकडिएर बसेको जातीय विभेदको परम्परालाई चुनौती दिँदै समानता र समावेशिताको सशक्त सन्देश प्रवाह गरेको छ।

वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको यस विशेष धार्मिक कार्यक्रममा धर्म, संस्कार र सामाजिक चेतनाबीचको सुन्दर संयोजन देखियो। जहाँ पहिले परम्परागत रूपमा सीमित घेराभित्र मात्रै कर्मकाण्ड हुने गर्थ्यो, त्यहीँ यसपटक सबै समुदायको समान सहभागितासहित वैदिक विधिबाट अनुष्ठान सम्पन्न हुनु आफैंमा ऐतिहासिक उपलब्धि बन्यो।

विशेषतः विश्वकर्मा समुदायका मूल पुजारीद्वारा सञ्चालन हुँदै आएको यस देवस्थलमा विगतमा जातीय विभेदका कारण पण्डितमार्फत वैदिक कर्मकाण्ड गर्न असहजता देखिँदै आएको थियो। तर, यसपटक किसन बहादुर बि.क.को सक्रिय पहल, मूल पुजारी धनबिर बि.क.को नेतृत्व र ज्योतिषाचार्य गणेश प्रसाद पन्तको मार्गदर्शनमा परम्परागत अवरोधहरू तोड्दै विधिपूर्वक अनुष्ठान सम्पन्न गरियो।

कार्यक्रमले केवल धार्मिक क्रियाकलापमा सीमित नरही सामाजिक रूपान्तरणतर्फ पनि महत्वपूर्ण कदम चाल्यो। सत्यनारायण कथा, रुद्राभिषेक, चण्डी पाठ, अखण्ड हवनजस्ता विधिहरूसँगै दलित समुदायका महिला तथा पुरुषलाई संयुक्त रूपमा वेदपाठ तालिम प्रदान गरिनु यस कार्यक्रमको विशेष आकर्षण रह्यो। यसले ज्ञान र संस्कार सबैका लागि खुला हुनुपर्ने सन्देश स्पष्ट रूपमा दिएको छ।

यसबाहेक, स्थानीय संस्कृति झल्काउने गौरा पर्वसँग सम्बन्धित जनै र दुब्धागो दोरकको अभ्यास सञ्चालन गर्ने निर्णयले परम्परा र समावेशिताबीच सन्तुलन कायम गर्ने प्रयास पनि देखिएको छ।

नेपालमा कानुनी रूपमा जातीय विभेद अपराध भए पनि व्यवहारमा कतिपय स्थानमा यसको छाया अझै देखिने अवस्थामा, निलपाल धाममा गरिएको यो पहलले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने उदाहरण प्रस्तुत गरेको छ। तीन दिनसम्म चलेको ७२ घण्टे महायज्ञमा सबै वर्ग, समुदाय र उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहनुले सामाजिक एकता बलियो बन्दै गएको संकेत गरेको छ।

स्थानीय बासिन्दा, भक्तजन र विभिन्न सरोकारवालाहरूको सक्रिय सहयोगले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएको छ। साथै, यस ऐतिहासिक कदममा साथ, सहयोग र सहभागिता जनाउने सम्पूर्णप्रति आयोजकले कृतज्ञता व्यक्त गरेका छन्।

निलपाल देवताको धाममा भएको यो महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई, सामाजिक चेतना र परिवर्तनको एक प्रेरणादायी यात्रा बनेको छ-जहाँ परम्परा र प्रगतिले हातेमालो गर्दै नयाँ सम्भावनाको ढोका खोलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply