बर्दगोरिया कलेज भवन शिलान्यास, शिक्षामा सरकारको जोड

बैशाख २१,
कैलाली सुदूरपश्चिम प्रदेशमा शिक्षा र रोजगारीलाई सँगै अघि बढाउने लक्ष्यसहित प्रदेश सरकार सक्रिय देखिएको छ। यही सन्दर्भमा, मुख्यमन्त्री कमलबहादुर शाह ले प्रदेश सरकारको प्राथमिकता अब केवल भौतिक विकासमा सीमित नरही गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनातर्फ केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ।

सोमबार बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले सीमित स्रोत–साधनका बीच पनि शिक्षाको स्तर उकास्न सरकार दृढतापूर्वक लागेको बताउनुभयो। “हामी संरचना मात्रै बनाउने होइन, भविष्य बनाउने अभियानमा छौं,” उहाँको भनाइ थियो।

उहाँले प्रदेशका अधिकांश बालबालिका शिक्षाको पहुँचमा पुगेको उल्लेख गर्दै अहिले करिब ९० प्रतिशत बालबालिका आधा किलोमिटरभित्रै विद्यालय पुग्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो। बाँकी १० प्रतिशत बालबालिकालाई पनि सडक सञ्जाल विस्तारमार्फत शिक्षासँग जोड्ने रणनीतिमा सरकार अघि बढिरहेको उहाँले प्रस्ट पार्नुभयो।

शिक्षा पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले बर्दगोरिया कलेजको भवन निर्माणमा आर्थिक वर्ष २०८२/८३ का लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ। यसले स्थानीयस्तरमा उच्च शिक्षाको पहुँच विस्तारसँगै गुणस्तर सुधारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, वर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने तथा सामाजिक विकास सचिव डा. हेमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो।

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि उक्त परियोजनाले क्षेत्रीय विकास, शैक्षिक अवसर विस्तार र युवाहरूलाई आफ्नै ठाउँमा सम्भावना खोज्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply