वैशाख २७
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही वैशाख २९ गते सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ गतेको मिति तय गरिएको हो।
विगतमा करिब तीन महिना लाग्दै आएको एसइई नतिजा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो पटक एक महिनामा ल्याउन लागेको हो।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएकै समयमा नतिजा सार्वजनिक हुने बताएका छन्।
‘तोकिएअनुसार वैशाख २९ भित्र नतिजा सार्वजनिक हुन्छ। हामी त्यसमै खटिइरहेका छौं,’ उनले आइतबार सेतोपाटीसँग भने।
बाँकी रहेको काम सकिए त्यसअघि नै नतिजा सार्वजनिक हुन सक्ने पनि उनले बताए।
‘रूजुको काम सकिइसकेको छ। उत्तरपुस्तिकाहरू नहराऊन् भनेर रिभ्यूको काम भइरहेको छ। त्यो काम सकिएपछि नतिजा सार्वजनिक गर्ने प्रक्रियामा जान्छ,’ उनले भने।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिन्छ।
यसअघिका वर्षमा एसइईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक गरिन्थ्यो।
यसपालि यति छिटै कसरी सम्भव भयो?
चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो।
सरकारले नै यसपालि महिना दिनभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै नतिजा पठाउन परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको थियो।
कापी जाँच्ने काम पनि मापदण्ड तोकेर परीक्षा भएकै केन्द्रमा गरिएको थियो। त्यस कारण यसपालि उत्तरपुस्तिकाहरू संकलन गरेर अन्यत्र पठाउनु नपर्दा नतिजा चाँडै निकाल्न सम्भव भएको हो।
बोर्डले अन्तिम परीक्षा सकिएपछि सम्बन्धित विषयको नतिजा, उत्तरपुस्तिका तथा परीक्षासम्बन्धी सबै कागजात वैशाख ५ गतेभित्र बुझाउनू भन्ने निर्देशन दिएको दिएको थियो।
यस अनुसार वैशाख ९ भित्र देशभरिका सम्पूर्ण जिल्ला शिक्षा इकाईहरूले मार्कस्लिप र उत्तरपुस्तिका बोर्डलाई बुझाएका थिए।
मार्कस्लिप र उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटर इन्ट्री गर्ने काम पनि बोर्डले छिट्टै सकेको थियो।
अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका परीक्षण सुरू हुने समयमा यसपालि उत्तरपुस्तिका जाँचसँगै ७० प्रतिशत तथ्यांक इन्ट्रीको कामसमेत सम्पन्न भएको थियो।
बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले एक महिनाभित्र रिजल्ट ल्याउन बोर्डका कर्मचारीले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म काम गरेको बताए।
समयमै काम सक्न बोर्डले जनशक्ति पनि थपेको थियो।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए।
तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन्।
त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएका छन्।

