एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, जेठ १४ गते । मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।

महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराएको हो । जितका लागि इन्डोनेसियाले दिएको एक सय १४ रनको लक्ष्य नेपालले १९ ओभर तीन बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रन बनाउनुभयो । ४३ बलको सामना गर्दै उहाँले पाँच चौकाको मद्दतमा नटआउट ४२ रन बनाउनुभएको हो । सोनी पार्खिनले २९ रन बनाउनुभएको खेलमा कविता कुँवरले १४ रन जोड्नुभयो । अन्तिम समयमा आएर आएर मात्र ६ बलको सामना गर्दै सीता रानामगरले नटआउट १३ रन बनाउनुभयो ।

नेपालविरुद्ध कसिलो बलिङ गरेको इन्डोनेसियाका लागि सुवान्देवी र काइदे अरियानीले दुई, दुई विकेट हात पार्दा लक्ष्मी परमिथा र न्योमन मेप्रियानीले एक, एक विकेट हात पार्नुभयो ।

मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो।

इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाउनुभयो । यस्तै निलु केतुत वेसिका रतना देवीले २३ र नि मादे पुत्री सुवानदेवीले १३ रन बनाउनुभयो । नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिनुभयो ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो ।

एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूहको विजेता बन्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply