होलीफेम्ली बन्यो क्रिकेट प्रतिभाको केन्द्र : कञ्चनपुरमा भव्य अन्तरविद्यालय टी-२०

हेमा भट्ट
कञ्चनपुर, जेठ १४
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० जिमुवास्थित होलीफेम्ली ईङलिश मिडियम स्कुलले विद्यालयस्तरमै क्रिकेट संस्कृतिको विकास गर्ने उद्देश्यसहित भव्य अन्तर विद्यालय टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। शुक्रबारदेखि सुरु हुने प्रतियोगिताले नगरभित्रका युवा खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

विद्यालय परिसरमै निर्माण गरिएको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका १८ माध्यमिक तहका विद्यालयबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता लिग तथा नकआउट चरणका आधारमा सञ्चालन गरिनेछ

होलीफेम्ली ईङलिश मिडियम स्कुलका सञ्चालक भुपाल सिंह विष्टले विद्यालयले शिक्षा मात्र नभई खेलकुद, अनुशासन र नेतृत्व विकासलाई समेत प्राथमिकतामा राख्दै प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ तथा सरोकारवाला निकायको सहकार्य र समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

“विद्यार्थीहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्दै खेलकुदमार्फत अनुशासन, सहकार्य, भाइचारा र प्रतिस्पर्धात्मक भावना विकास गराउने हाम्रो उद्देश्य हो,” विष्टले भने, “आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरिय बनाउँदै लैजाने योजना छ।”

विद्यालयका सहायक म्यानेजर महादेव प्रशाद भट्टले कञ्चनपुरमा क्रिकेटको भविष्य उज्ज्वल बनाउन विद्यालयस्तरबाटै खेलाडी उत्पादन आवश्यक रहेको बताए। उनले क्रिकेट खेललाई ग्रामीण तथा शहरी क्षेत्रका विद्यार्थीमाझ लोकप्रिय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडी पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे।

“खेलाडी उत्पादनको आधार विद्यालय हो,” उनले भने, “विद्यार्थीभित्र रहेको अन्तरनिहित क्षमता यस्ता प्रतियोगिताले उजागर गर्छ। यही प्रयासले भोलि जिल्लाबाट राष्ट्रिय टिमसम्म खेलाडी पुग्ने आधार तयार हुन्छ।”

भट्टका अनुसार होलीफेम्ली स्पोर्ट्स एन्ड एकेडेमीले यसअघि पनि धेरै प्रतिभाशाली क्रिकेट खेलाडी उत्पादन गरिसकेको छ। विद्यालयका केही विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन्।

विद्यालयका सहायक प्रिन्सिपल हरिस ठगुन्नाले प्रतियोगिताले नगरभित्रका विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा र सकारात्मक सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार विद्यालयको क्रिकेट एकेडेमीका नौ जना प्रशिक्षार्थी खेलाडी हाल जिल्ला क्रिकेट संघको टोलीमार्फत प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भइसकेका छन्।

“यस्ता प्रतियोगिताले खेलाडी मात्र होइन, सकारात्मक सोच, आत्मविश्वास र टीम भावना पनि निर्माण गर्छ,” उनले भने, “विद्यालय र समुदायबीचको सम्बन्ध समेत अझ बलियो बन्छ।”

प्रतियोगितामा सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरेर खेल सञ्चालन गरिनेछ। आयोजकले प्रतियोगितामा सहभागी हुने सबै खेलाडीको उमेर १९ वर्षमुनि हुनुपर्ने व्यवस्था गरेको छ। साथै सम्पूर्ण खेल आईसीसी र क्यानको नियमअनुसार सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगितालाई थप आकर्षक बनाउन विजेता टोलीलाई नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, ‘म्यान अफ द म्याच’, ‘बेस्ट ब्याट्सम्यान’, ‘बेस्ट बलर’, ‘बेस्ट फिल्डर’, ‘म्यान अफ द सिरिज’ तथा ‘उदीयमान खेलाडी’लाई पनि नगदसहित विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा क्रिकेटको वातावरण थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सोनारले विद्यालयस्तरबाट सुरु भएको यस्तो पहलले जिल्लामा क्रिकेटको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। “विद्यालय तहबाट प्रतियोगिता सञ्चालन हुनु भनेको भविष्यका खेलाडी निर्माणको आधार तयार हुनु हो,” उनले भने, “यसले कञ्चनपुरलाई क्रिकेटको उर्वर भूमि बनाउन मद्दत गर्छ।”

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले पालिकाभित्र पहिलो पटक यति व्यवस्थित अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको उल्लेख गर्दै यसले शिक्षा र खेलकुदलाई एकसाथ अघि बढाउने विश्वास व्यक्त गरे।

प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखकले गर्ने कार्यक्रम रहेको छ। नगरभरिका विद्यालयका विद्यार्थी सहभागी हुने भएकाले प्रतियोगिताले स्थानीय खेलप्रेमी र क्रिकेट पारखीहरूलाई समेत उत्साहित बनाएको छ।

विद्यालयस्तरमै खेलकुदलाई प्राथमिकता दिने होलीफेम्लीको यो प्रयासले कञ्चनपुरमा क्रिकेटको नयाँ पुस्ता तयार गर्ने आधार निर्माण गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply