कृष्णपुर खानेपानीको पहिलो साधारण सभा सम्पन्न : स्वच्छ पानीबाट समृद्ध समाज निर्माणको प्रतिबद्धता

हेमा भट्ट, जेठ १६,
कञ्चनपुर- सफा पानी, सरसफाइ हाम्रो चाहना, स्वस्थ र समृद्ध समाजको स्थापना भन्ने मूल नारासहित श्री कृष्णपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति कृष्णपुर नगरपालिका-४ र ५ को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समितिका अध्यक्ष रतनबहादुर साउदको सभापतित्व तथा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन समितिका सचिव गजेन्द्र धामीले गरेका थिए भने व्यवस्थापक कुन्ती देउवाले स्वागत मन्तव्यसहित संस्थाको एक वर्षे कार्यप्रगति प्रस्तुत गरेकी थिइन्। उनले खानेपानी वितरण, सरसफाइ प्रवर्द्धन, सेवा व्यवस्थापन तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराएकी थिइन्।

नगर प्रमुख हेमराज ओझाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने शहीदहरूप्रति सम्मान व्यक्त गर्दै मौनधारण गरिएको थियो।

प्रमुख अतिथि ओझाले स्वच्छ खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गुणस्तरीय सेवा, पानीका स्रोतहरूको संरक्षण तथा दिगो व्यवस्थापनमा नगरपालिका सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले खानेपानी संस्थाहरूलाई पारदर्शी, जवाफदेही र उपभोक्तामैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए।

वडा नं. ४ का अध्यक्ष धर्मबहादुर सिंहले खानेपानी योजनाको संरक्षण र दिगोपनाका लागि उपभोक्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए। वडा नं. ५ का अध्यक्ष टेक पाण्डेले स्वच्छ पानी र सरसफाइले समुदायको स्वास्थ्य तथा जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

इलाका प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र बिष्टले सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव तथा सामुदायिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए। कार्यक्रममा अनुगमन समिति संयोजक दिलबहादुर देउवा, हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा, वनदेवी सामुदायिक वनका अध्यक्ष रामचन्द्र भट्टलगायतको उपस्थिति रहेको थियो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। आर्थिक विवरण सार्वजनिक गर्दै समितिले आय–व्यय, सञ्चालन खर्च तथा आगामी योजनाबारे जानकारी गराएको जनाएको छ। सहभागीहरूले संस्थाले छोटो अवधिमै सेवा विस्तार र व्यवस्थापन सुधारमा गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी पारदर्शिता, नियमित सूचना प्रवाह तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न सुझाव दिएका थिए।
कार्यक्रमको समापनमा संस्थाले उपभोक्ताको विश्वास, सहभागिता र संस्थागत सुशासनलाई केन्द्रमा राखेर स्वच्छ खानेपानी तथा सरसफाइ सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। आयोजकका अनुसार समुदाय, स्थानीय सरकार र सरोकारवालाबीचको सहकार्यबाट स्वस्थ, सभ्य र समृद्ध समाज निर्माण गर्ने लक्ष्यलाई आगामी वर्षहरूमा अझ प्रभावकारी रूपमा अगाडि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply