काठमाडौँ, जेठ २१ । नेपाल समूह ‘ए’ को विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ। सिङ्गापुरमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो।
नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको थियो। कुशल भुर्तेलले ५४ बलमा १२६ रनको विस्फोटक शतकीय इनिङ्स खेले भने आशिफ शेखले ६८ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३१ रनको योगदान दिए।
२७६ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा नौ विकेट गुमाएर १०८ रनमै समेटियो। कप्तान सयद अजिजले ५४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका शेर मल्लले तीन विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए।
यसअघि नेपालले चीनलाई २२१ रनले हराएको थियो। लगातार दुई जितसँगै नेपाल समूह विजेता बनेको छ भने मलेसिया पनि एसियन गेम्समा छनोट भएको छ। लगातार दुई हार बेहोरेको चीन प्रतियोगिताबाट बाहिरिएको छ।
