खेमराज भट्ट, बेनी, जेठ २३ – जबरजस्ती करणी मुद्दामा अदालतबाट ७ वर्ष कैद सजाय पाएका तथा कारागारबाट फरार रहेका एक कैदीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार कास्की जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद सजाय फैसला भई कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका कास्कीको पोखरा महानगरपालिका-९ निवासी ५४ वर्षीय लक्ष्मण मगराती उर्फ कृष्ण सार्की भन्ने कृष्णबहादुर सार्की फरार रहेका थिए।
प्रहरीका अनुसार जेठ २२ गते राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले बेनी नगरपालिका-९ गलेश्वर क्षेत्रमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि कारागार कार्यालय बेनी पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार अभियुक्त तथा कैदीहरूको खोजी र पक्राउ अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइरहेको समेत जनाएको छ।

