धनगढीमा भोलिदेखि एसपिए लिटल फ्लावर प्राइड लिग-१०, १५ टोली उपाधिका लागि भिड्दै

हेमा भट्ट, असोज १४
धनगढी – धनगढीमा क्रिकेटको माहोल फेरि तात्ने भएको छ। एसपिए लिटल फ्लावर प्राइड लिग (एलपिएल) को दशौँ संस्करणअन्तर्गत सिनियर टी-२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि फाप्ला मैदानमा सुरु हुँदैछ।
प्रतियोगिताको तयारी पूरा भएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले जनाएको छ। प्रतियोगिताबारे बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तथा प्रतियोगिता संयोजक रामचन्द्र शाहीले खेल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

पत्रकार सम्मेलनकै क्रममा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय खेलग्राम तथा पूर्वाधार विकास समितिका अध्यक्ष सुवास विक्रम शाहीले प्रतियोगिताको ट्रफी अनावरण गर्दै सफल आयोजनाका लागि शुभकामना व्यक्त गरे।
यस वर्षको एलपिएलमा १५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’, ‘बी’ र ‘सी’ मा चार-चार टोली छन् भने समूह ‘डी’मा तीन टोली रहेका छन्।

प्रतियोगिताको औपचारिक उद्घाटन असोज १५ गते बिहान फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले गर्ने कार्यक्रम तय गरिएको छ।
उपाधि जित्ने टोलीले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा व्यक्तिगत प्रदर्शनतर्फ पनि खेलाडीलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई १ हजार रुपैयाँ प्रदान गरिनेछ।
दशौँ संस्करणको प्रतियोगितामा स्थानीय तथा युवा प्रतिभासँगै नेपाल प्रिमियर लिग (एनपीएल) खेलिसकेका खेलाडीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। यसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
२०७३ सालदेखि सुरु भएको एलपिएल यसपटक दशौँ संस्करणमा प्रवेश गरेको हो।

लामो समयदेखि सुदूरपश्चिममा क्रिकेट प्रतिभा उत्पादन र खेल संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको प्रतियोगितालाई दशौँ संस्करणमा थप स्मरणीय बनाउने तयारी आयोजकको छ।
प्रतियोगिता असोज २१ गतेसम्म सञ्चालन हुनेछ। अध्यक्ष शाहीले प्रतियोगितालाई सफल बनाउन धनगढी तथा सुदूरपश्चिमका सम्पूर्ण खेलप्रेमीलाई फाप्ला मैदानमा पुगेर खेलाडीको हौसला बढाइदिन आग्रह गरेका छन्।

प्रतियोगिताको टाइटल स्पोन्सर एसपिए कलेज रहेको छ। त्यस्तै ब्याम ब्याम, जुस जेली लगायतका विभिन्न संस्था तथा व्यवसायिक प्रतिष्ठानहरू पनि प्रतियोगिताका प्रायोजकका रूपमा जोडिएका छन्।

दशौँ संस्करणको एलपिएल केवल प्रतियोगिता नभई स्थानीय क्रिकेट प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने एउटा महत्वपूर्ण मञ्चका रूपमा समेत अघि बढ्ने आयोजकको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *