धनबहादुर बिक, असोज १३
पुनर्वास — डेंगु, मलेरिया तथा जापानिज इन्सेफलाइटिसजस्ता किटजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरको पुनर्वास नगरपालिकामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
पुनर्वास नगरपालिका–६ स्थित प्रतिभानगर बजारमा मंगलबार होटल तथा खाजा पसलमा राखिएका सामग्री तथा सरसफाइको अवस्थाको अवलोकनसँगै प्रभातफेरि आयोजना गरी समुदायमा किटजन्य रोग नियन्त्रणसम्बन्धी सचेतना फैलाइएको हो।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले लामखुट्टेको टोकाइबाट सर्न सक्ने रोगबाट बच्ने उपायबारे स्थानीयवासीलाई जानकारी गराएका थिए। घर वरपर पानी जम्न नदिने, पानी राख्ने भाँडाहरू छोपेर राख्ने, फोहोर तथा झाडी सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्न झुललगायतका आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरिएको थियो।

विशेषगरी डेंगु फैलाउने एडिस लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, मलेरियाबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिने तथा जापानिज इन्सेफलाइटिस नियन्त्रणका लागि सरसफाइ, लामखुट्टे नियन्त्रण र उपलब्ध खोपसम्बन्धी जानकारी दिइएको थियो।
स्वास्थ्यकर्मीहरूले लामखुट्टेको संख्या नियन्त्रण गर्न समुदायको सामूहिक सहभागिता आवश्यक रहेको बताएका थिए। ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा अन्य असामान्य लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई समयमै जाँच तथा उपचार गराउनसमेत आग्रह गरिएको थियो।
पुनर्वास नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण वडा नम्बर ६ सहरी स्वास्थ्य क्लिनिकका प्रमुख चक्र बिष्टले गरेका थिए। कार्यक्रममा पुनर्वास नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम धामीले किटजन्य रोगको अवस्था, जोखिम र बच्ने उपायबारे जानकारी दिएका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो घर, टोल तथा समुदायमा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने र सरसफाइलाई नियमित बनाउने प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्यकर्मीका अनुसार किटजन्य रोग नियन्त्रण सरकार वा स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी नभई प्रत्येक घरपरिवार र समुदायको साझा दायित्व हो।
समुदायस्तरमा निरन्तर जनचेतना, नियमित सरसफाइ तथा रोगको समयमै पहिचान र उपचारमार्फत किटजन्य रोगको जोखिम न्यूनीकरण गर्न सकिने बताइएको छ।

