हेमा भट्ट, असाेज १२
सुर्खेत – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुर्खेत जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतले असोज ९ गतेको बैठकको निर्णयअनुसार विभिन्न खेलको छनोट प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले खेल हुने दिनभन्दा कम्तीमा एक दिनअघि नागरिकता वा जन्मदर्ताको प्रतिलिपिसहित प्रदेश खेलाडी दर्ता फाराम भरी जिल्ला खेलकुद विकास समिति सुर्खेतमा दर्ता हुनुपर्नेछ।
छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्स असोज १३ र १४ गते, बुद्धिचाल १४ र १५ गते, फुटबल तथा आईटीएफ तेक्वान्दो १५ र १६ गते, बास्केटबल, एफसी कराते, ब्याडमिन्टनलगायतका खेल १६ र १७ गते तथा भलिबल, तेक्वान्दो, हेण्डबल, कराते र कबड्डी १७ र १८ गते सञ्चालन हुने समितिले जनाएको छ। त्यसैगरी बक्सिङ असोज २२ गते सञ्चालन हुनेछ।
अन्य खेलका लागि जिल्ला खेलकुद विकास समितिमा दर्ता गराई आवश्यकताअनुसार छनोट कार्यक्रम तय गरिने जनाइएको छ।
छनोट प्रतियोगिताले सुर्खेतका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्दै प्रदेश तथा राष्ट्रियस्तरमा पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। नियमित खेलकुद गतिविधिमार्फत अनुशासन, स्वास्थ्य, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकाससँगै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतका कार्यालय प्रमुख विरोध विक्रम जिसीले सम्पूर्ण खेल संघ, प्रशिक्षक तथा खेलाडीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। समितिले छनोट प्रक्रिया व्यवस्थित, पारदर्शी र खेलाडीको प्रतिभा पहिचानमा केन्द्रित हुने जनाएको छ।
मिशन : राष्ट्रिय खेलकुद परिषद् समाजमा अनुशासित तथा गतिशील नागरिक तयार गर्न खेल संस्कारको विकास गर्ने।

