बहिरा विद्यार्थीको सिकाइ सुधार्न २४ विद्यालयका शिक्षकलाई विशेष तालिम, समावेशी शिक्षामा नयाँ पहल

हेमा भट्ट,कार्तिक १२
धनगढी- बहिरा तथा सुस्तश्रवण विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी, गुणस्तरीय र समावेशी बनाउने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका शिक्षक तथा प्रधानाध्यापकका लागि धनगढीमा पाँचदिने विशेष तालिम सुरु भएको छ।

विद्यालय शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्ने, बहिरा विद्यार्थीको सिकाइ आवश्यकता पहिचान गर्ने तथा उनीहरूको क्षमताअनुसार शिक्षण विधि अपनाउन शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो।

विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग परियोजना (TECSES) नेपालअन्तर्गत शिक्षा तालिम केन्द्र, दिपायल, डोटीको आयोजनामा सुरु भएको तालिमको उद्घाटन साङ्केतिक भाषासहित गरिएको थियो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शिक्षा निर्देशक (उपसचिव) जयदेव महराले ब्यानर वाचन गर्दै तालिमको उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा शिक्षा निर्देशक महराले समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताए। बहिरा तथा सुस्तश्रवण विद्यार्थीको आवश्यकता र सिकाइ क्षमताअनुसार शिक्षण विधि अपनाउनुका साथै साङ्केतिक भाषा तथा सञ्चारका उपयुक्त माध्यम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

उनले विद्यालयमा अपाङ्गता भएका बालबालिकाले सहज रूपमा सिक्न, बुझ्न र आफ्नो क्षमता विकास गर्न सक्ने वातावरण निर्माण गर्न शिक्षकको दक्षता अभिवृद्धि आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै TECSES नेपालका सुदूरपश्चिम प्रदेश संयोजक रामदास चौधरीले बहिरा विद्यार्थीको शिक्षण सिकाइ सुधारका लागि शिक्षकको क्षमता विकास महत्त्वपूर्ण रहेको बताए। तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्न सके विद्यार्थीको सहभागिता र सिकाइ उपलब्धि अभिवृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो।

तालिममा सुदूरपश्चिम र कर्णाली प्रदेशका २४ विद्यालयका प्रधानाध्यापक तथा शिक्षक सहभागी छन्। विशेषगरी बहिरा स्रोतकक्षामा अध्यापन गराउने शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा समावेशी शिक्षाको अवधारणा, सरकारी नीति तथा प्रावधान, अपाङ्गता, विशेष शिक्षा, एकीकृत शिक्षा र समावेशी शिक्षाबीचको भिन्नताबारे जानकारी प्रदान गरिँदै छ।

तालिमको पहिलो दिन सहभागीबीच परिचय, स्वागत, तालिमका उद्देश्यबारे जानकारी, पूर्वपरीक्षण तथा अपेक्षा सङ्कलन गरिएको थियो। साथै सहभागी शिक्षकको समावेशी शिक्षासम्बन्धी बुझाइको अवस्था पहिचान गर्दै नेपालको समावेशी शिक्षा नीति र अभ्यासबारे जानकारी दिइएको थियो।

TECSES नेपाल परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा समावेशी शिक्षा प्रवर्द्धनमा परियोजनाले खेल्ने भूमिकाबारे समेत सहभागीलाई जानकारी गराइएको थियो। बहिरा तथा सुस्तश्रवण विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन शिक्षकको व्यावसायिक क्षमता विकास अपरिहार्य रहेको विषयमा तालिममा जोड दिइएको छ।

तालिमको मुख्य उद्देश्य शिक्षकलाई समावेशी शिक्षाका विभिन्न अभ्यासबारे ज्ञान प्रदान गर्नु, बहिरोपन तथा श्रवणशक्तिमा कमी भएका विद्यार्थीको सिकाइ आवश्यकता बुझ्न सहयोग गर्नु र कक्षाकोठामा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको छ।

त्यसैगरी, बहिरा विद्यार्थीका लागि सिकाइको विश्वव्यापी डिजाइन (Universal Design for Learning), पाठ्यक्रममा आवश्यक अनुकूलन तथा परिमार्जन र व्यक्तिगत शिक्षा योजना (Individualized Education Plan) निर्माणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य पनि तालिमले लिएको छ।

बहिरा तथा सुस्तश्रवण विद्यार्थीलाई एउटै शिक्षण विधिबाट सबै अवस्थामा पर्याप्त सहयोग नपुग्न सक्ने भएकाले उनीहरूको सञ्चार क्षमता, सिकाइ शैली र व्यक्तिगत आवश्यकताअनुसार शिक्षण प्रक्रिया अघि बढाउनुपर्नेमा तालिमले विशेष जोड दिएको छ। साङ्केतिक भाषा, दृश्य सामग्री, शिक्षकहरु काे सक्रिय सहभागिता तथा व्यक्तिगत आवश्यकताअनुसारका सिकाइ गतिविधिको प्रयोगले शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।

फिनल्यान्ड सरकारको परराष्ट्र मन्त्रालय तथा युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित TECSES नेपाल परियोजनाले विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकको व्यावसायिक क्षमता विकास तथा समावेशी शिक्षाको प्रवर्द्धनमा प्राविधिक सहयोग गर्दै आएको छ।

धनगढीमा सुरु भएको पाँचदिने तालिमबाट प्राप्त ज्ञान र सीपलाई सहभागी शिक्षकले आआफ्ना विद्यालयमा प्रयोग गर्न सकेमा बहिरा तथा सुस्तश्रवण विद्यार्थीको कक्षाकोठामा सहभागिता, सञ्चार क्षमता, आत्मविश्वास र सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समावेशी शिक्षा विद्यालयमा भर्ना गराउने प्रक्रियामा मात्र सीमित नभई प्रत्येक विद्यार्थीले बुझ्ने, सिक्ने र आफ्नो क्षमता विकास गर्ने अवसर सुनिश्चित गर्नु हो। यसका लागि दक्ष शिक्षक, उपयुक्त शैक्षिक सामग्री, साङ्केतिक भाषामा सञ्चार, अनुकूल सिकाइ वातावरण र निरन्तर पेसागत सहयोग आवश्यक हुन्छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका २४ विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई लक्षित गरी सञ्चालन गरिएको यो तालिमले बहिरा तथा सुस्तश्रवण विद्यार्थीको सिकाइ आवश्यकता सम्बोधन गर्दै विद्यालय शिक्षालाई थप गुणस्तरीय, पहुँचयोग्य र समावेशी बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *