टेक्सासमा रामकृष्ण ढकालको सांगीतिक साँझ हुँदै, नेपाली समुदायको आपत्कालीन राहत कोष स्थापना गरिने

खेमराज भट्ट, कात्तिक २०
टेक्सास, अमेरिका- नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनसँगै प्रवासमा रहेका नेपालीबीच आपसी एकता, सद्भाव र मानवीय सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाको टेक्सासमा विशेष सांगीतिक साँझ आयोजना हुने भएको छ।

नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सास (NSCT) को आयोजनामा तिहारको अवसर पारेर हुन लागेको उक्त कार्यक्रममा नेपालका लोकप्रिय तथा वरिष्ठ गायक रामकृष्ण ढकालले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्। सांगीतिक मनोरञ्जनसँगै नेपाली समुदायका लागि आपत्कालीन राहत तथा सहायता कोष स्थापना गर्ने कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रवासमा रहेका नेपालीहरू विभिन्न समयमा प्राकृतिक विपत्ति, स्वास्थ्य समस्या तथा अन्य आकस्मिक कठिनाइमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आपसी सहयोगको भरपर्दो आधार निर्माण गर्न राहत कोष स्थापना गर्न लागिएको हो। यस कोषमार्फत आवश्यक परेको समयमा समुदायका सदस्यलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा गायक ढकालले आफ्ना लोकप्रिय तथा सदाबहार गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। नेपाली संगीतप्रेमीका लागि विशेष आकर्षण बन्ने कार्यक्रममा देउसी-भैलो, नेपाली मौलिक खानाका परिकार, नाचगान तथा विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधिसमेत समावेश गरिनेछन्।

विशेषगरी तिहारको उल्लासलाई प्रवासमै नेपालीपनसँग जोड्दै आयोजना गर्न लागिएको यस कार्यक्रमले नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति, संगीत र परम्परासँग नजिक बनाउने विश्वास आयोजकको छ। विदेशमा रहे पनि आफ्नो मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई जोगाइराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रम शुक्रबार, नोभेम्बर ६ मा अमेरिकाको टेक्सास राज्यस्थित बेल्टनमा रहेको La Rio Mansion, 4501 Dice Grove Road, Belton, TX 76513 मा आयोजना हुनेछ। कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा सहभागी हुन नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासका सदस्यका लागि ४० अमेरिकी डलर र अन्य सहभागीका लागि ५० अमेरिकी डलर प्रवेश शुल्क निर्धारण गरिएको छ।

आयोजक संस्थाले टेक्सास तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई सांगीतिक मनोरञ्जन लिनुका साथै आपत्कालीन राहत कोष स्थापनाको मानवीय अभियानमा हातेमालो गर्न हार्दिक निमन्त्रणा गरेको छ।

यो कार्यक्रम केवल गीत-संगीत र उत्सवमा सीमित नभई प्रवासमा नेपाली समुदायको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्ने प्रयासका रूपमा समेत हेरिएको छ। मनोरञ्जनसँगै दुःख-सुखमा एकअर्काको सहारा बन्ने सामूहिक भावना विकास गर्न सके प्रवासको नेपाली समाज अझ बलियो बन्ने विश्वास गर्न सकिन्छ।

नेपालीपनको उत्सव, संगीतको मिठास र मानवीय सेवाको साझा अभियानका रूपमा आयोजना हुन लागेको यस सांगीतिक साँझले प्रवासमा रहेका नेपालीलाई एउटै भावनात्मक सूत्रमा जोड्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *