ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

भक्तपुर, कात्तिक १९ गते । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि सिलिन्डरको प्रतीक्षामा रहेका उपभोक्ता ग्यासका लागि पसल र डिलर धाउन बाध्य छन्।

भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताउनुभयो। यसअघि आधा भरिएको सिलिन्डर पाए पनि त्यसयता अर्को सिलिन्डर नपाएको उहाँको गुनासो छ। डिलरदेखि खुद्रा पसलसम्म धाउँदा पनि ग्यास नपाएको उहाँले बताउनुभयो।

त्यस्तै, अर्का उपभोक्ता सुनील दुवालले पनि लामो समयदेखि ग्यासका लागि पसलमा नाम टिपाउँदा समेत सिलिन्डर पाउन नसकेको बताउनुभयो। पैसा तिर्न तयार हुँदा पनि आवश्यक ग्यास नपाउनु दुःखद भएको उहाँको भनाइ छ।

ग्यास अभावका कारण दैनिक खाना पकाउने काम प्रभावित भएको छ। ग्यास सकिन लागेका परिवारलाई अर्को सिलिन्डरको व्यवस्था गर्नसमेत कठिनाइ भइरहेको उपभोक्ताको गुनासो छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गर्नुभएको छ। कुनै एउटा कम्पनीको ग्यास नपाए अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सकिने उहाँले बताउनुभयो।

दसैँअघि जिल्ला प्रशासनले कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको थियो। आपूर्ति सहज भएको ठानेर दसैँपछि त्यस्ता सूचना दिन छाडिएको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो।

प्रशासनको आपूर्ति सहज भएको दाबी र उपभोक्ताले भोगिरहेको अभावबीच तालमेल देखिएको छैन। बजारमा ग्यास उपलब्ध रहेको भनिए पनि वास्तविक उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने प्रश्न उठेको छ। वितरणको अवस्था र उपलब्धताबारे स्पष्ट सूचना नहुँदा उपभोक्ता थप अन्योलमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *