मंसिर ७ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक नतिजा र अनुभव हासिल गरेका छन्। कसैले टोलीलाई पहिलोपटक च्याम्पियन बनाए भने कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्याए। केही कप्तानको नेतृत्वमा टोली प्लेअफसम्म पुगे भने केहीका लागि प्रतियोगिता अपेक्षाअनुसार हुन सकेन।
यस संस्करणमा कप्तानी र व्यक्तिगत प्रदर्शन दुवैका कारण सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी चर्चामा रहे। उहाँको नेतृत्वमा सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएलको उपाधि जित्यो। ऐरीले प्रतियोगिताका १० खेलमा २१७ रन बनाउनुभयो भने बलिङतर्फ सात विकेट लिनुभयो। ब्याटिङ र बलिङ दुवैमा योगदान दिँदै उहाँले टोलीलाई ऐतिहासिक सफलता दिलाउनुभयो।
उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पनि नेतृत्वमा निरन्तरता देखाउनुभयो। उहाँकै कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो। रोहितले आठ खेलमा १५१ रन बनाउनुभयो र चार विकेट लिनुभयो। गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शनका आधारमा कार जित्नुभएका उहाँले यसपटक पनि आफ्नो प्रभाव कायम राख्नुभयो।
काठमाडौँ गोर्खाजका कप्तान करण केसीले टोलीलाई प्लेअफसम्म पुर्याउनुभयो। उहाँले आठ खेलमा १० विकेट लिनुका साथै ब्याटिङबाट ९० रन जोड्नुभयो। चितवन राइनोजका कप्तान सिकन्दर रजाको नेतृत्वमा पनि टोलीले प्लेअफको यात्रा तय गर्यो। तर व्यक्तिगत प्रदर्शनमा भने उहाँले अपेक्षित प्रभाव पार्न सक्नुभएन। रजाले पाँच खेलमा ५६ रन बनाउनुभयो भने पाँच विकेट लिनुभयो।
कर्णाली याक्सले प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन गरेको थियो। सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गर्नुभयो भने लिग चरणको अन्तिमतिर डेविड मिलरलाई जिम्मेवारी दिइयो। सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाउनुभयो। बलिङमा उहाँले ८.९० को इकोनोमी रेटमा १० विकेट लिनुभयो। पहिलोपटक एनपीएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाउनुभयो। उहाँको उच्च स्कोर अविजित ९३ रन रह्यो।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद हुन सकेन। उहाँको नेतृत्वमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन।
पोखरा एभेन्जर्सले पनि कमजोर प्रदर्शनपछि प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन गर्यो। सुरुआती खेलमा कुशल भुर्तेलले नेतृत्व गर्नुभएको टोलीको जिम्मेवारी लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई दिइयो। कप्तानी परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने प्रभावशाली रह्यो। उहाँले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाउनुभयो र बलिङमा छ विकेट लिनुभयो। नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिनुभयो।
जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि यो संस्करण टोली र व्यक्तिगत दुवै हिसाबले चुनौतीपूर्ण रह्यो। उहाँको नेतृत्वमा जनकपुर अङ्कतालिकाको अन्तिम स्थानमा रह्यो। तर व्यक्तिगत रूपमा हरमितले बलिङमा प्रभाव छाड्नुभयो। उहाँले सात खेलमा ११ विकेट लिनुका साथै ब्याटिङमा ९० रन बनाउनुभयो।
समग्रमा एनपीएलको तेस्रो संस्करणमा कप्तानहरूको नेतृत्वसँगै व्यक्तिगत प्रदर्शनले पनि टोलीको यात्रामा फरक पारेको देखियो। ऐरीले सुदूरपश्चिमलाई पहिलो उपाधि दिलाउँदा रोहितले लुम्बिनीलाई लगातार दोस्रो फाइनलसम्म पुर्याउनुभयो। अन्य कप्तानका लागि भने प्लेअफको यात्रा, कप्तानी परिवर्तन र व्यक्तिगत प्रदर्शनका फरक अनुभव प्रतियोगिताको हिस्सा बने।
