एन्फामाथिको निलम्बन र सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा

मंसिर ३। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित सम्पूर्ण प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ।

राखेपको कार्यकारी समितिले बिहीबार एन्फामाथि लगाइएका सबै प्रतिबन्ध हटाउने निर्णय गरेको हो। निर्णयसँगै एन्फाले भोग्दै आएको प्रशासनिक अवरोध र आर्थिक रोकावटसमेत हटेको छ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी दिएका छन्। एन्फाले गत अप्रिल ५ मा पठाएको अनुरोध तथा परिषद्ले यसअघि गरेका विभिन्न पत्राचारलाई आधार बनाएर निलम्बन हटाइएको पत्रमा उल्लेख छ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३०) लाई आधार मानेर उक्त निर्णय गरेको जनाएको छ।

प्रतिबन्ध फुकुवासँगै नेपाली फुटबलको प्रशासनिक गतिविधि, आर्थिक कारोबार तथा संस्थागत कामकारबाही सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। यस निर्णयलाई नेपाली फुटबलको नियमित गतिविधि सञ्चालनका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *