लुम्बिनी लायन्सको शानदार जित, विराटनगर किङ्स ४ विकेटले पराजित

तृप्ति ओली,कार्तिक २८
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

लुम्बिनीको जितमा डार्सी शर्ट र आसिफ शेखले समान ४५ रन बनाए। सुन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अविजित २५ रन जोडे भने अली शेखले २७ रनको योगदान दिए। अन्तिम समयमा रुबेन ट्रम्पेलम्यानले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए भने शुभम रञ्जनेले अविजित ३१ रन जोडे।

बलिङतर्फ लुम्बिनीका किशोर महतोले २ विकेट लिए। यो जितसँगै लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ भने विराटनगर किङ्सको प्लेअफ यात्रा समूह चरणमै समाप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *