कात्तिक २८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को लिग चरणको अन्तिम खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
लिग चरणको अन्तिम खेलमा दुवै टोलीले आफ्नो प्लेइङ–११ मा परिवर्तन गरेका छन् । लुम्बिनीले समिन हुसेनको स्थानमा अली शेखलाई समेटेको छ भने विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम् रन्जने तथा सुजन थपलियालाई मौका दिएको छ ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी ६ खेलबाट चार जित र एक खेलमा अङ्क बाँड्दै नौ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । त्यसैले आजको खेलमा उसलाई दबाब छैन ।
तर, पाँचौँ स्थानमा रहेको विराटनगरका लागि यो खेल निर्णायक बनेको छ । छ खेलबाट छ अङ्क जोडेको विराटनगरलाई प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीविरुद्ध जित्नैपर्ने दबाब छ । यद्यपि, जित निकाले पनि अन्य टोलीको नतिजा अनुकूल हुनुपर्नेछ ।
सातवटै खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ । बाँकी दुई स्थानका लागि काठमाडौँ गोर्खाज, चितवन राइनोज र विराटनगरबीच प्रतिस्पर्धा भइरहेको छ ।
अन्तिम खेलअघि काठमाडौँ आठ अङ्कसहित तेस्रो, चितवन सात अङ्कसहित चौथो र विराटनगर छ अङ्कसहित पाँचौँ स्थानमा छन् । काठमाडौँले आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ भने चितवनले कर्णाली याक्सको सामना गर्नेछ ।
काठमाडौँ पराजित भए पनि प्लेअफमा पुग्ने सम्भावना कायम रहनेछ । तर चितवन र विराटनगरका लागि भने जित महत्वपूर्ण छ । विराटनगरले लुम्बिनीलाई हराए पनि काठमाडौँ र चितवनको नतिजा आफ्नो पक्षमा आउनुपर्नेछ ।
तीनवटै टोलीका अन्तिम खेलको नतिजापछि प्लेअफमा पुग्ने शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । आवश्यक परे नेट रनरेटका आधारमा पनि प्लेअफ समीकरण निर्धारण हुनेछ ।
