आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी, कात्तिक २७ गते । दीपावली सकिएसँगै आजदेखि चारदिने छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीबाट सुरु हुने पर्वका कारण महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ ।

आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठको तयारीसँगै मिथिलाका घरघरमा सूर्यदेव र षष्ठीदेवीको महिमा गाइएका भक्तिगीत गुञ्जिन थालेका छन् । नदी, पोखरी र धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण तथा सरसफाइ भइरहेको छ । विशेषगरी युवाहरू घाट सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन् ।

स्थानीयवासीले घरका भित्ता लिपपोत गर्ने, रङरोगन गर्ने तथा सडक र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि गरिरहेका छन् । पर्वको तयारीले घरायसी कामदेखि आपसी भेटघाटसम्मका गतिविधि छठकेन्द्रित बनेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो ।

छठ नजिकिएसँगै बजारमा पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरी, उखु, अदुवा, बेसारका बोट, मुठा, ज्यामिरलगायत सामग्रीको माग बढेको छ । स्थानीय किसानले पनि पूजामा प्रयोग हुने सामग्री बिक्रीका लागि बजार ल्याउने तयारी गरेका छन् । यस्ता सामग्रीको मुख्य बिक्री शनिबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो ।

त्यस्तै, बाँसबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री बढेको छ । दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीजस्ता माटाका भाँडाको मागसमेत बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण यस्ता सामग्रीको कारोबार बढेको हो ।

घरघरमा छठको प्रसाद बनाउने तयारी पनि तीव्र भएको छ । ठकुवा र भुसुवालगायत परिकार तयार गर्न गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी तथा जाँतोमा कुट्ने र पिँध्ने परम्परा अझै कायम छ । प्रसाद तयार गर्दा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइने भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले बताउनुभयो । उहाँका अनुसार छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

मिथिला क्षेत्रमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ मनाइन्छ । पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।

छठले सामाजिक सद्भाव र एकताको सन्देशसमेत दिने विश्वास गरिन्छ । यस पर्वमा पुराना मनमुटाव बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पूजा गर्ने चलनले आपसी सहयोग र सद्भावलाई बल पुर्‍याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *