कात्तिक २५ गते । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन्। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ७ मिनेट रहेको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन कुनै बाधा छैन। तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो दिशा निर्धारण गरिएको हो।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीका माला पहिर्याउने चलन छ। टीका लगाएपछि ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गरिन्छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।
दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ। वर्षमा एक दिन भाइटीकाका अवसरमा मात्र खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन तथा टीका ग्रहण गर्ने परम्परा छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक तयारी पूरा गरिएको छ। त्यस्तै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा तथा टीका लगाउने चलन छ।
विसं २०३५ अघि रानीपोखरीमा हामफालेर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि बालगोपालेश्वर मन्दिर बन्द गरिएको थियो। त्यसबेला दिदीबहिनी वा दाजुभाइ नहुनेहरू खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे। विसं २०३५ पछि रानीपोखरीको मन्दिर भाइटीकाका दिन खुल्न थालेको हो। २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माण गरिएको मन्दिर २०७७ सालदेखि पुनः खुला गरिएको हो।
यसैबीच, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार कतिपयले भाइटीकाकै दिन र कतिपयले अघिल्लो दिन किजापूजा गर्ने चलन छ। भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार मंगलबार नै किजापूजा गरेका छन्।
