आज कुकुरतिहारसँगै लक्ष्मीपूजा मनाइँदै

कात्तिक २२ गते । तिहारको दोस्रो दिन आज आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ। तिथिको घटबढका कारण दिउँसो चतुर्दशी र साँझ औँसी तिथि पर्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दुवै पर्व एकै दिन मनाउने निर्णय गरेको हो।

आज बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ भने साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी घरघरमा दीपावली गरिँदै छ।

धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा भगवान् भैरवको वाहनका रूपमा पूजा गरिन्छ। यमलोकको ढोकामा श्यामा र सबला नामका दुई कुकुरले पहरा दिने र मानिसको मृत्यु नजिकिँदा यमराजलाई खबर गर्ने विश्वास छ। कुकुरको पूजा गर्दा मृत्युको भयबाट मुक्ति मिल्ने र यमलोकमा दुःख भोग्न नपर्ने धार्मिक विश्वास पनि रहिआएको छ।

महाभारतको कथामा पनि कुकुरप्रतिको निष्ठा र धर्मको प्रसङ्ग जोडिएको छ। स्वर्गारोहणका क्रममा युधिष्ठिरसँगै गएको कुकुरलाई स्वर्ग प्रवेश गर्न नदिँदा उहाँले आफ्नो साथीलाई छाडेर स्वर्ग नजाने अडान लिनुभएको थियो। त्यसपछि कुकुर स्वयं धर्मराज भएको रहस्य खुलेको कथन छ।

लक्ष्मीपूजाको धार्मिक महत्त्व

तिहारको प्रमुख आकर्षणका रूपमा रहेको लक्ष्मीपूजा कात्तिक कृष्ण औँसीको साँझ मनाइन्छ। धार्मिक कथनअनुसार समुद्र मन्थनका क्रममा यही दिन महालक्ष्मी प्रकट हुनुभएको थियो। उहाँको स्वागतमा देवताले दीप प्रज्वलन गरी पूजा गरेकाले दीपावली मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।

अर्को पौराणिक कथाअनुसार भगवान् विष्णुले राजा बलिलाई पाताल लोक पठाएपछि लक्ष्मीले बलिलाई भाइ बनाएर विष्णुलाई मुक्त गराउनुभएको थियो। लक्ष्मीको आशीर्वादले बलिको राज्य धनधान्यले भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसियालीमा पनि दीप प्रज्वलन गर्ने परम्परा रहेको मानिन्छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, २४ गते गोरुतिहार, गोवर्धन पूजा तथा म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ। तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइटीका मनाइनेछ। यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *