बुद्धिमान कागको सम्मानमा आज कागतिहार मनाइँदै

कात्तिक २१ गते । नेपाली संस्कृतिमा कागलाई बुद्धिमान, चनाखो र मानवमैत्री पन्छीका रूपमा लिइन्छ। मानिसले जस्तै सिक्ने, सम्झने र परिस्थितिअनुसार व्यवहार गर्ने क्षमता भएकाले कागलाई अन्य चराभन्दा फरक मानिन्छ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार कागले भविष्यका लागि खाना लुकाएर राख्ने गर्छ। यसले आफ्नो अनुभवबाट सिक्ने र आवश्यकताअनुसार उपाय अपनाउने क्षमता राख्छ।

वरिष्ठ चराविद् टीकाराम गिरीका अनुसार कागले काठको छेस्को प्रयोग गरेर किरा निकाल्ने र पानीमा ढुङ्गा खसालेर पानीको सतह माथि ल्याई प्यास मेट्ने जस्ता व्यवहार देखाउँछ। आफ्नो समूहको सुरक्षामा पनि काग निकै सचेत हुन्छ। समूहको कुनै सदस्यलाई खतरा भए अन्य काग एकजुट भएर प्रतिकारमा उत्रिन्छन्।

कागले बस्ती आसपास सर्प, बिरालो तथा अन्य शिकारी जनावर देख्दा आवाज निकालेर मानिसलाई सतर्क गराउने गरेको चराविद्हरू बताउँछन्। नेपालमा घर काग, वन काग र हिमाली क्षेत्रमा पाइने ठूलो राजा कागलगायत प्रजाति पाइन्छन्। तर, सहरीकरण र ठूला रुख कटानका कारण यसको प्राकृतिक बासस्थान घट्दै गएको छ।

आज कागतिहार मनाइँदै

तिहारको पहिलो दिन शनिबार कागतिहार मनाइँदै छ। कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मिठा परिकार खुवाउने परम्परा छ।

धार्मिक विश्वासअनुसार कागलाई मृत्युका देवता यमराजको दूत वा सन्देशवाहक मानिन्छ। कागले पृथ्वीमा भएका राम्रा–नराम्रा घटनाको जानकारी यमराजसम्म पुर्‍याउने जनविश्वास छ। त्यसैले बिहानको पहिलो खाना वा प्रसाद घरको छत, पर्खाल अथवा अग्लो स्थानमा राखेर कागलाई अर्पण गर्ने चलन रहिआएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *