मिठाईमा मूल्य र विवरण नराखे कारबाही हुने

कात्तिक २१ गते । तिहार नजिकिएसँगै मिठाईको गुणस्तर र बिक्रीमा हुने अनियमितता नियन्त्रण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन कडा बनाएको छ। विभागले मिठाई पसललाई अनिवार्य रूपमा मूल्यसूची र आवश्यक विवरण राख्न निर्देशन दिएको छ।

नयाँ मापदण्डअनुसार मिठाईको नाम, प्रयोग भएका कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग्य अवधि र प्रतिकेजी मूल्य स्पष्ट देखिने गरी राख्नुपर्नेछ। सोकेसमा विवरण नराखी मिठाई बिक्री गर्ने, अखाद्य रङ प्रयोग गर्ने वा बिग्रिएको तेलबाट मिठाई बनाउने पसलमाथि कारबाही गरिने विभागले जनाएको छ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार खुला मिठाईमा उत्पादन मिति र उपभोग्य अवधि उल्लेख गर्न दिइएको समयसीमा सकिएको छ। मापदण्ड पालना नगर्ने पसलमाथि खाद्य ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दा तथा जरिबानाको प्रक्रिया अघि बढाइनेछ।

विभागले हालसम्म देशभरका ४२८ मिठाई पसलमा विशेष अनुगमन गरेको छ। तीमध्ये २२२ पसलले पूर्ण रूपमा लेबल तथा सूचना राख्न थालेका छन् भने ४३३ पसललाई सचेत गराउँदै निर्देशनपत्र दिइएको विभागले जनाएको छ।

काठमाडौँ उपत्यकाका ५३ चर्चित मिठाई पसलमा गरिएको अनुगमनका क्रममा अखाद्य वस्तु, पटक–पटक प्रयोग गरिएको जलेको तेल, अत्यधिक औद्योगिक रङ तथा भान्सामा मरेका झिँगा र साङ्लासमेत भेटिएका थिए।

बिदामा पनि अनुगमन

तिहारमा मिठाई तथा खाद्य परिकारको कारोबार बढ्ने भएकाले सार्वजनिक बिदाका दिन पनि अनुगमनलाई निरन्तरता दिइने भएको छ। केन्द्रमा विभागका दुई टोली र उपत्यकाबाहिरका ३० खाद्य कार्यालयअन्तर्गत एक–एक टोली परिचालन गरिनेछ।

महानिर्देशक कर्णले चाडपर्वका बेला बढ्दो मागको फाइदा उठाएर उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन नदिन नियमित अनुगमन गरिने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *