आयातित दियोको बढ्दो मागले स्वदेशी पाला ओझेलमा

कात्तिक २१ गते । तिहार नजिकिएसँगै बजारमा माटाका दियो र पाला किन्नेको चहलपहल बढेको छ। तर स्वदेशमै उत्पादन हुने दियोभन्दा भारतबाट आयात गरिएका बुट्टेदार दियोप्रति उपभोक्ताको आकर्षण बढ्दा नेपाली उत्पादन ओझेलमा परेको छ।

व्यापारीका अनुसार भारतीय दियो नेपाली उत्पादनभन्दा चार गुणासम्म महँगो भए पनि बजारमा तिनकै माग बढी छ। काठमाडौँको भेँडासिंहमा माटाका भाँडा बिक्री गर्दै आउनुभएकी नानुमाया कर्माचार्यका अनुसार नेपाली दियो प्रतिदर्जन ४० रुपैयाँमा पाइन्छ भने भारतबाट आएका बुट्टेदार दियोको मूल्य २२० रुपैयाँ छ। सस्तो हुँदाहुँदै पनि उपभोक्ताले बुट्टेदार दियो रोज्ने गरेको उहाँले बताउनुभयो।

त्यहाँका व्यापारी राजुमान शाक्यका अनुसार भारतबाट आयात गरिएका १० दर्जन बुट्टेदार दियो बिक्री हुँदा नेपाली दियो मुस्किलले दुई दर्जन मात्रै बिक्री हुन्छन्। केही वर्षअघिसम्म तिहारका लागि आवश्यक दियो र पाला स्वदेशी उत्पादनले धान्ने गरे पनि अहिले भारतीय र चिनियाँ सामग्रीको बजार हिस्सा बढ्दै गएको उहाँको भनाइ छ।

तिहारमा ४५ लाखभन्दा बढी फूलका माला

यस वर्ष तिहारमा फूलका मालाको माग पनि बढ्ने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार अघिल्लो वर्षको तुलनामा सयपत्री मालाको माग १४ प्रतिशतले वृद्धि भएको छ।

यस वर्ष ४० लाख सयपत्री, चार लाख ७५ हजार मखमली, २० हजार गोदावरी र ३० हजार मिश्रित गरी कुल ४५ लाख २५ हजार फूलका माला खपत हुने अनुमान गरिएको छ। अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख सयपत्री माला खपत भएको थियो।

तिहारसँगै ढाकाटोपीको बिक्री पनि बढ्ने गरेको व्यापारी बताउँछन्। असनका टोपी व्यापारी विनय श्रेष्ठका अनुसार पाल्पाली र पूर्वेली ढाकाटोपी बजारमा प्रख्यात छन्। ढाकाटोपी बनाउन आवश्यक कच्चा पदार्थसमेत भारतको गोरखपुरबाट आयात गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

बजारमा प्रतिथान ५० देखि दुई हजार पाँच सय रुपैयाँसम्मका टोपी बिक्रीका लागि राखिए पनि तिहारमा २५० देखि ५०० रुपैयाँसम्मका टोपी बढी बिक्री हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *