आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै

कात्तिक २३ गते । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै छ। हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्ने परम्पराअनुसार विधिपूर्वक पूजा गरी माला, टीका लगाएर खानेकुरा दिने चलन छ।

गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व रहेको छ। गाईको दूध आमाको दूधसरह पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ।

धार्मिक मान्यताअनुसार गाईको पूजा गर्दा पुण्य प्राप्त हुने विश्वास छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि रहिआएको छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको छ। गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ।

धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्‍याउन सहयोग गर्ने मान्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *