कात्तिक २६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच मध्याह्न १२ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, दोस्रो खेलमा अपराह्न ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । दुवै खेल टोलीका लागि प्लेअफ यात्रा बलियो बनाउने अवसरका रूपमा रहेका छन् ।
तालिकाको छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ । आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेल खेल्दा चारमा पराजय र एकमा मात्र जित निकालेको छ । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण हुनेछ ।
दोस्रो खेलमा कर्णाली याक्स जित निकाल्ने दबाबमा छ । पाँच खेलबाट दुई जित र तीन हारसहित सातौँ स्थानमा रहेको कर्णालीका लागि प्लेअफ सम्भावना जोगाउन आजको खेल महत्वपूर्ण छ ।
तेस्रो स्थानमा रहेको लुम्बिनी लायन्सको अवस्था भने तुलनात्मक रूपमा सहज छ । पाँच खेलमध्ये तीनमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको लुम्बिनी आफ्नो स्थान थप बलियो बनाउने लक्ष्यमा हुनेछ ।
आठ टोली सहभागी प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
