कात्तिक २१ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा पोखराले बलिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गर्ने भएको हो। दुवै टोली आज जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
चितवनले तीन खेलबाट एक जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा तीन अङ्क जोडेको छ। टोली अङ्क तालिकाको छैटौँ स्थानमा छ। पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ रनले हराएको चितवन दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो।
यता, पोखराले खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। सुदूरपश्चिमसँग छ विकेट, जनकपुरसँग नौ रन र लुम्बिनीसँग आठ विकेटले पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ।
आजको नतिजाले चितवनलाई तालिकामा आफ्नो स्थान सुधार्ने अवसर दिनेछ भने पोखराका लागि प्रतियोगितामा जितको खाता खोल्ने मौका हुनेछ।
